Kakhara सबैको खबर सम्पूर्ण खबर
५५ किलोमिटरको गुरिल्ला म्याराथनमा मनकुमार प्रथम 

छैटौँ गुरिल्ला ट्रेल म्याराथन दौड रोल्पा थबाङका मनकुमार रोकामगरले जित्नुभएको छ । मगर समुदायको प्रमुख चाड भूमे पर्वको अवसरमा रुकुम पूर्वको भूमे गाउँपालिका र रोल्पाको थवाङ गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेको म्याराथनमा थवाङ १ का रोकामगर प्रथम हुनुभएको हो । 

मंगलबार भूमे–६ महतबाट थवाङसम्म ५५ किलोमिटर दुरिमा म्याराथन सञ्चालन गरिएको थियो । प्रथम हुन् मनकुमारले उक्त दुरि ७ घण्टा ५९ मिनेटमा पार गर्नुभयो । 

सोलुखुम्बुका किरण कुलुङ राई दोस्रो हुनुभयो । राईले निर्धारित दुरि ८ घण्टा २२ मिनेटमा पार गर्नुभयो भने रुकुम पूर्वको भूमे–३ क्याङ्सीका शक्तिराम रोकामगर ८ घण्टा २२ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुनुभयो । 

रोल्पा थबाङ–२ का शिरिस रोका चौथो, भूमे–६ महतका रामकुमार बुढामगर पाँचौँ, सिस्ने–४ का पञ्चराम बुढा छैटौँ, रुकुम पश्चिमका दुर्गाराज बुढा सातौँ, भूमे–१ लुगुमका हिकामन पुन आठौँ, भूमे–१ कै जानकुमार पुन नवौँ र सोही वडाकै माइकल पुन दशौँ स्थानमा रहनुभयो । 

म्याराथनको प्रथमले नगद ७० हजार, दोस्रोले ४५ हजार, तेस्रोले २५ हजार र सान्त्वनाले १५ हजार तथा दशौँ स्थानसम्म रहेका धावकहरुले जनही ५ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाण पत्र समेत प्राप्त गरेको आयोजक भूमे गाउँपालिकाले जनाएको छ । भूमे पर्वको अवसरमा अन्य विभिन्न कार्यक्रमहरु जारी रहेका छन् । 

१० वर्षे जनयुद्धका क्रममा तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा गुरिल्ला म्याराथन सञ्चालन गरिएको हो । यसले खेलकुदको विकास सहित युद्ध पर्यटन विकास समेत टेवा पुर्याइरहेको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । 

पाँचौँ संस्करणसम्म भूमे गाउँपालिकाले एकल रुपमा म्याराथन सञ्चालन गरेपनि यो वर्ष देखि भने रोल्पाको थवाङ गाउँपालिका समेत जोडिएको छ । 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update