Kakhara सबैको खबर सम्पूर्ण खबर
कस्तो ल्यायो सिस्ने गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम ?

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले गाउँपालिकाको १७ औँ गाउँ सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पेस गर्नुभएको हो । नीति कार्यक्रममा कृषितर्फ ‘कृषि उपज बजारसम्म-मुनाफा किसानको खल्तीसम्म’ पुग्ने गरी मूर्त र वस्तुवादी कार्यक्रम बनाउने नीति गाउँपालिकाले लिएको छ । 

कृषि पकेट क्षेत्रको विकास र विस्तार गर्दै एक टोल एक उत्पादन कार्यक्रम तर्जुमा गर्ने, किसान सूचीकरण तथा परिचय पत्र वितरणको कामलाई यथाशीघ्र लागु गर्ने, व्यावसायिक कृषि समूह एवं उद्योगको अभिलेखीकरण गर्ने, कृषि सहकारीलाई (CoPoMis) मा आबद्ध गर्न आवश्यक कार्यक्रम बनाउने, प्राङ्गारिक वस्तु प्रमाणीकरणको कार्यक्रम लागु गर्ने, पूर्वाधार एम्बुलेन्सको व्यवस्था गर्ने, रैथाने बालीको संरक्षण गर्ने र जैविक खेती किसानको कार्यक्रम लागु गर्ने नीति गाउँपालिकाले तय गरेको छ। 

यस्तै शिक्षातर्फ ‘शिक्षा विशेष’ कार्यक्रमलाई निरन्तरता दिँदै प्रविधिमैत्री, संस्कृतिमैत्री शिक्षा कार्यक्रमलाई जोड दिँदै सामुदायिक विद्यालयमा पूर्वाधारयुक्त प्रविधिमा आधारित गुणस्तरीय र व्यवहारिक/वैज्ञानिक शिक्षा शिक्षण पद्धति सञ्चालन गर्ने, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न दलित, विपन्न, द्धन्द पीडित कोभिड-१९ बाट अभिभावक गुमाएका असहाय छात्रछात्रालाई प्रोत्साहन गर्न पोसाक तथा शैक्षिक सामाग्री वितरणलाई सहज र सुलभ बनाइने नीति सिस्ने पनि गाउँपालिकाले लिएको छ । 

शिक्षक तथा विद्यार्थीहरूमा भाषिक शुद्धता र स्पष्ट रूपमा वर्ण मिलाई लेखन सिप विकास गर्न अक्षर सुधार कार्यक्रमलाई क्रमशः; पालिका भरका सबै विद्यालयहरूमा विस्तार गर्ने, सिस्ने गाउँपालिकाको शिक्षा क्षेत्र योजना २०८१ लाई कार्यान्वयनमा लैजाने पनि गाउँ सभामा पेस भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

स्वास्थ्यतर्फ गर्भवती, सुत्केरी महिलाका लागि यातायातका साथै उत्प्रेरणा खर्चको कार्यक्रमलाई निरन्तरता दिँदै किशोरी, गर्भावस्था र सुत्केरी स्वास्थ्य सचेतना एवं बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्ने, नारी बचत कार्यक्रम र सुत्केरीका लागि सुलभ एम्बुलेन्स विशेष सेवालाई निरन्तरता दिने, बर्थिङ सेन्टर र प्रयोगशालाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउने, मोतीबिन्दुको अप्रेसनको लागि विशेष व्यवस्था गर्ने नीति तथा कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।

पर्यटनतर्फ रुकुमकोटलाई जिल्लाकै हिमाली पर्यटन हब घोषणा गरिएकामा सिस्ने राउन्डमा पदमार्गको कार्यलाई निरन्तरता दिने, रुकुमकोट हुँदै सिस्ने र से-फोक्सुण्डो सम्मका पर्यटकीय मार्गलाई प्रवर्द्धन गर्न सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा विशेष कार्यक्रमहरू सञ्चालन गर्ने, रुट गाइड, होटेल व्यवस्थापन, सूचना केन्द्र सञ्चालन लगायतका सीपमूलक तालिम सञ्चालन गर्ने, निजी क्षेत्रसँगको सहकार्यमा जिपलाइन स्थापना तथा सञ्चालन कार्य अघि बढाउने योजना पनि आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । 

यस्तै बाउन्न पोखरी त्रिपन्न टाकुरीको रेखाङ्कीय नक्सांकनको लागि आवश्यक पहल गर्ने, सिस्ने बेस क्याम्पमा सिस्ने राउन्ड, नौ दह, पूर्मुली क्षेत्रमा पूर्वाधार निर्माण गर्दै जाने कुरा पनि नीति कार्यक्रममा उल्लेख छ । 

भौतिक पूर्वाधारतर्फ देउखोलामा निर्माण भइरहेको चुनौतीपूर्ण सडकको अलाइनमेन्ट परिवर्तन गरी समयमै काम सक्नको लागि र थप ठेक्का प्रक्रिया लागि विशेष गर्ने, पुँजीगत बजेटको कम्तीमा ३ प्रतिशत बजेट पूर्वाधार मर्मत तथा सम्भार गर्ने गरी विनियोजन गरिने गरी प्रबन्ध मिलाउने, सुद्रि-भट्टेचौर सडक समपूरक बजेट सङ्घ सरकारसँगको योजनालाई प्राथमिकतामा राख्ने र रुकुमकोटमा ढल निकासको योजनालाई निरन्तरता दिने उल्लेख छ । 

यस्तै पशुपालन मार्फत पशुपंक्षीजन्य उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउनुको साथै यस्ता उत्पादनलाई निर्यात प्रवर्धन गर्न, स्वरोजगार वृद्धि गर्न र आर्थिक विकास गर्ने, रैथाने जातको पशुपंक्षी पालनको संरक्षण गर्दै नश्ल सुधारको कार्यक्रमलाई व्यवस्थित बनाउँदै लैजाने योजना पनि सिस्ने गाउँपालिकाले नीति कार्यक्रममा उल्लेख गरेको छ । 

महिलाका लागि राजनैतिक, आर्थिक, सामाजिक सशक्तीकरणका विभिन्न कार्यक्रमहरू- सीप विकास, आयआर्जन, जनचेतना, आत्मरक्षा आदी विभिन्न कार्यक्रम सञ्चालन गरिने, स्वच्छ पिउने पानीको आपूर्तिको लागि उपभोक्ता समिति मार्फत प्रभावकारी रूपमा मुहान तथा ट्याङ्की संरक्षण मर्मत, पाइप जडान, धारा वितरणको व्यवस्था मिलाउने, बढ्दो प्लास्टिकजन्य फूलजन्य वस्तुलाई निरुत्साहित गर्दै जैविक फूलको प्रयोग र बिक्री वितरणलाई बढवा दिइने, यसै वर्ष एकीकृत ग्रामीण उद्योग स्थापना गर्न विशेष पहल गरिने पनि नीति कार्यक्रममा उल्लेख छ । 

‘दिगो वन व्यवस्थापन स्वच्छ र समृद्ध जीवनयापन’ को दीर्घकालीन सोचलाई कार्यान्वयन गर्न वन पैदावार र वन व्यवस्थापन, जडीबुटी र जैविक विविधताको दिगो संरक्षण गरी रोजगारी सिर्जना, वन अर्थतन्त्र निर्माण गर्न जङ्गलको उपयोग गर्ने नीति गाउँपालिकाले लिएको छ । अध्यक्ष-उपाध्यक्ष जनमितेरी तथा जनसाक्षात्कार कार्यक्रम सञ्चालन गर्दै सामाजिक दायित्वसँग एकाकार हुने, विगत सशस्त्र द्वन्द्व एवम् जनआन्दोलन लगायत युगान्तकारी आन्दोलनमा सहिद भएका परिवारका लागि सहकारीमा सेयर खरिद गरिदिने र योगदानलाई मूल्याङ्कन गर्दै दायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिइने पनि उल्लेख छ । 

अध्यक्ष-उपाध्यक्षसँग विपन्न सहायता कार्यक्रमलाई निरन्तरता दिने, खुला मञ्च निर्माण गर्ने  लोक सेवा र शिक्षक सेवा कक्षा सञ्चालन गर्ने, आर्थिक पारदर्शिता र वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्दै बेरुजु नियन्त्रणलाई प्राथमिकतामा राख्दै बेरुजु फर्स्यौट (नियमित गर्ने,असुलउपर गर्ने समेत) गर्ने कार्यलाई तीव्रता दिने, ‘स्वस्थ प्रतिस्पर्धी बजार र रितपूर्वक बिल बिजक’ भन्ने व्यापारिक कथन चरितार्थ गर्दै नियमित बजार अनुगमनलाई निरन्तरता दिने, आन्तरिक नियन्त्रण प्रणाली तथा सेवा प्रवाहको मापदण्ड तयार गरी लागु गर्ने योजना पनि गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा समेटेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update