
रुकुम पश्चिममा लागु औषध दुर्व्यसनी नियन्त्रणका लागि स्वयंसेवक विकास तथा परिचालन सम्बन्धी कार्यक्रम भएको छ । साताव्यापी रूपमा मनाइरहेको यस वर्षको लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्लामा कार्यक्रम भएको हो ।
नेपाल सरकार राष्ट्रिय युवा परिषद्को आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागु औषध दुर्व्यसनी नियन्त्रणका लागि सचेतना अभिवृद्धि गर्ने र यसमा खटिने स्वयंसेवकहरू उत्पादन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा परिषद्का उप सचिव कर्ण कँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज शिक्षक, विद्यार्थी तथा युवाहरूलाई लागु औषध दुर्व्यसनी सम्बन्धी अभिमुखीकरण गरिएको र अब उनीहरूले आफ्नो विद्यालय, समुदाय, परिवार, विद्यालय, कार्यालय तथा संस्थामा गएर २ दिनसम्म लागु औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी सचेतना फैलाउने छन् ।
परिचालित स्वयंसेवकहरूले लागु औषधको परिचय, यसका प्रकार, यसले मानव स्वास्थ्य, समुदाय तथा परिवारमा पार्ने असर, यसबाट बच्ने तरिका लगायतका बारेमा स्वयंसेवकहरूले सचेतिकरण गर्ने उहाँको भनाई छ । आज ६० जनालाई स्वयंसेवकका रूपमा परिचालन गर्ने गरी अभिमुखीकरण गरिएको उप सचिव कुँवरले बताउनुभयो ।
कार्यक्रममा उपसचिव कुँवर सहित, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्ला समन्वय अधिकारी पुण्यप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले लागू औषध दुर्व्यसनी, यसले पुर्याएको असर, यसबाट जोगिने उपाय लगायत बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
युवा परिषद्का उप सचिव कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला युवा समितिका अध्यक्ष भिमराज ओलीले गर्नुभएको थियो ।