Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइसीयल रुकुम पश्चिमले डिजिटल ब्लड बैङ्क स्थापना गर्ने, पालिका इन्चार्ज तोक्यो 

नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन योंग कम्युनिस्ट लिग वाइसीयल नेपाल रुकुम पश्चिमले पालिका इन्चार्ज तोकेको छ । आइतबार शेरिगाउँ स्थित सहिद प्रतिष्ठानको सभा हलमा बसेको पदाधिकारी बैठकले सबै पालिकामा इन्चार्ज तोकेको हो । 

वाइसीयल चौरजहारी नगरपालिका इन्चार्जको जिम्मेवारी रेसम क्षेत्री, आठबिसकोट नगरपालिकाको विजय बिक, मुसिकोट नगरपालिकाको राजु बिक, बाफिकोट गाउँपालिकाको देवबहादुर पुन, सानीभेरी गाउँपालिकाको सन्तोष बिक र त्रिवेणी गाउँपालिका इन्चार्जको जिम्मेवारी गणेश चन्दलाई दिइएको छ । 

त्यस्तै वाइसीयल रुकुम पश्चिमले डिजिटल ब्लड बैङ्क स्थापना गर्ने निर्णय गरेको छ । रगतको अभावलाई हटाउन डिजिटल रूपमा रक्तदाताहरूलाई सूचिकृत गर्ने र चाहिएको बेलामा सम्पर्क गरेर रक्तदान गर्न सक्ने व्यवस्था मिलाउने गरी डिजिटल ब्लड बैङ्क स्थापना गर्ने निर्णय भएको वाइसीयल नेपाल रुकुम पश्चिमका अध्यक्ष एलबि कटुवालले जानकारी दिनुभयो । 

बैठकले वाइसीयल नेपाल कार्यकर्ता सहायता कोष समेत स्थापना गर्ने निर्णय गरेको छ । यसैबिच बैठकमा सबै तहका सम्मेलनको समीक्षा गर्नुका साथै प्राकृतिक विपत् (बाढी, पहिरो) आइलागेमा सबै पालिकाका वाइसीयललाई स्वयंसेवकको रूपमा परिचालन गर्ने निर्णय समेत भएको अध्यक्ष कटुवालले जानकारी दिनुभयो । 

यसले विपत्को क्षति कम गर्न मदत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । जिल्ला अध्यक्ष कटुवालको अध्यक्षतामा बसेको बैठकमा सङ्गठनका केन्द्रीय उपाध्यक्ष  शैलेशकुमार शर्माको प्रमुख आथित्यता थियो । त्यस्तै बैठकमा केन्द्रीय सदस्यहरू जनक विश्वकर्मा, गोविन्द ओली लगायत सङ्गठनका केन्द्रीय, प्रदेश तथा आयोगका नेताहरूको पनि उपस्थिति थियो ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update