Kakhara सबैको खबर सम्पूर्ण खबर
खजुरामा संयुक्त अनुगमन, कार्यक्रमको निरन्तरतामा सरोकारवालाको जोड

नेपालगन्ज । बालिका शिक्षा कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित श्री ज्ञानोदय नमुना माविमा जिल्ला स्तरीय संयुक्त अनुगमन गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आज उक्त संयुक्त अनुगमन गरिएको हो । 

विद्यालयमा जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरूको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका विषयमा गरिएको अनुगमनमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मानिसको स्वास्थ्यसँग जोडिएको जलवायुका विषयमा सञ्चालित कार्यक्रम प्रभावकारी रहेको पाएको बताउनुभयाे ।

बालिकाहरूको अनुभव, अभिभावकको भनाई र विद्यालयको प्रतिक्रियाले कार्यक्रमको निरन्तरता अपरिहार्य भएको उहाँको भनाई थियो । उहाँले जलवायु न्याय कार्यक्रमलाई स्थानीय सरकारले अपनत्व ग्रहण गरी अगाडी बढाएको खबरले खुसी बनाएको बताउँदै सबै मिलेर कार्यक्रमलाई अगाडी बढाउन अनुरोध गरे । उहाँले कार्यक्रमको निरन्तरताका लागि जिल्ला समन्वय समिति मार्फत गर्नुपर्ने भूमिकाका लागि प्रतिबद्ध रहेको बताउनुभयाे । 

यसै गरी कार्यक्रममा बोल्दै शिक्षा समन्वय इकाई प्रमुख धनसुधन चौलागाइले सफल कार्यक्रमको निरन्तरताका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयाे । कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण बहादुर भण्डारीले बालिका शिक्षा कार्यक्रम एक सफल कार्यक्रम भएकाले स्थानीय सरकारले निरन्तरताका लागि कन्जुस्याइँ गर्न नहुनेमा जोड दिनुभयाे । उहाँले कार्यक्रमको निरन्तरताका लागि वडा समेत प्रतिबद्ध रहेको बताउनुभयाे । 

सो क्रममा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उप प्रमुख सिता कार्की, शिक्षा समन्वय इकाई प्रमुख धनसुधन चौलागाइ, खजुरा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पूर्ण बहादुर भण्डारी, सामाजिक विकास समिति संयोजक कृष्णा पोख्रेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, निर्मल रेग्मी, महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपाने, गैर सरकारी संस्था महासंघ बाँकेका सचिव रमेश सिटौला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमसरा भण्डारी, प्रधानाध्यापक ऋषिराम सापकोटा, शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।  

वालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सहजीकरण गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए भने कार्यक्रमको प्रगतिको प्रस्तुतीकरण बासका सिनियर सामाजिक परिचालक जमुना चौधरीले गर्नुभएकाे थियाे । 

संयुक्त अनुगमनको क्रममा बालिका शिक्षा कार्यक्रम अनुगमन चेक लिस्ट अनुरूप जलवायु परिवर्तनका २६ ओटा सत्रहरुका बारेमा बालिकाहरूलाई अनुगमनकर्ताहरूले प्रश्न सोधेका थिए । जसमा जलवायु परिवर्तन, परिवारको संलग्नता, सामग्री सहयोग र उपयोगिता, विद्यालयको संलग्नता लगायतको विषय रहेको थियो । भने विद्यालयको संलग्नताका विषयमा शिक्षकहरूलाई कार्यक्रमको प्रभावकारीताका विषयमा प्रश्न सोधेका थिए ।

कार्यक्रमको समापन ज्ञानोदय नमुना मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमसरा भण्डारीले गरेका थिए । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update