
नेकपा माओवादी केन्द्र रुकुम पश्चिम–काठमाडौँ समन्वय समितिको आयोजनामा काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय सँगको सहकार्यमा कार्यालय परिसर भृकुटीमण्डपमा रक्तदान कार्यक्रम भएको हो ।
सो क्रममा रुकुम पश्चिम घर भई हाल पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा काठमाडौँमा रहेका ८० जनाले रक्तदान गरेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिम–काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष एकराज केसीले जानकारी दिनुभयो । रक्तदान गर्नेमा कर्मचारी, विद्यार्थी, व्यापारी, नेता, कार्यकर्ता लगायत रहेको उहाँको भनाई छ ।
उहाँका अनुसार रुकुम पश्चिमबाट उपचारका लागि काठमाडौँ पुग्ने बिरामीहरूलाई रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम सञ्चालन गरिएको हाे । अहिले रक्तदान गरेर रेडक्रसलाई रगत उपलब्ध गराइएको र भोलीका दिनमा आवश्यक परेको खण्डमा रेडक्रसले रगत उपलब्ध गराउने उहाँको भनाई छ ।
रेडक्रससँगको यो सहकार्यले रुकुमबाट उपचारका लागि काठमाडौँ पुगेर रगत अभावमा कोही पनि बिरामी भतारिनु नपर्ने अध्यक्ष केसीले विश्वास व्यक्त गर्नुभयो । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।