
रुकुम पश्चिमबाट एक गर्भवती महिलालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर २ की ४० बर्सिया नन्दकला खड्का खत्रीलाई थप उपचार लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरेर सुर्खेत पठाइएको हो ।
आज दिउँसो २ बजेतिर सल्लेबाट उद्धार गरेर सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । नन्दकलाको पाठेघरको नलीमा गर्भ बसेको र बच्चा हुर्किँदै गएपछि नली फुटेपछि आन्तरिक रक्तस्राव भएको अवस्थामा जिल्ला अस्पतालमा पुर्याइएको थियो ।
आज बिहान १० बजेतिर अस्पताल ल्याइएकी नन्दकलाको जिल्ला अस्पतालमा सफल अप्रेसन भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर महेश चौलागाइले जानकारी दिनुभयो ।
अप्रेसन पश्चात् ३ पोका रगत चढाइएको र बिरामीलाई आइसियुको आवश्यकता परेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकोप्टर बोलाएर थप उपचारका लागि सुर्खेत पठाइएको उहाँले बताउनुभयो ।