
रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा ५ वर्ष सेवा गर्नुभएका महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर केहलविक्रम जिसीलाई बिदाइ गरिएको छ । अस्पताल विकास समिति मार्फत २०७७ को भाद्र महिना देखि जिल्ला अस्पतालमा कार्यरत डा. जिसी ५ वर्षको सेवा पश्चात् बिदाइ भएर जानुभएको हो ।
स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन, जिल्ला ब्याडमिन्टन सङ्घ, योंग कम्युनिस्ट लिग वाइसीयल नेपाल, प्रेस सेन्टर नेपाल रुकुम पश्चिम, कखरा डट कम, रोयल क्याफे लगायतका सङ्घ संस्था तथा व्यक्तिहरूले डा. जिसीलाई बिदाइ गरे ।
जिल्ला ब्याडमिन्टन सङ्घ रुकुम पश्चिमले खलङ्गा स्थित कवर्डहलमा बिदाइ कार्यक्रम राखेको थियो । सङ्घले डा. जिसी सहित सरुवा भएर जाजरकोट जान लाग्नुभएका प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढालाई समेत बिदाइ गरेको छ ।
सङ्घका अध्यक्ष अनिल बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य डम्बर थापा सहित विभिन्न व्यक्ति तथा खेलाडीहरूको उपस्थिति रहेको थियो । उपस्थितहरूले दोसल्ला, मायाको चिनो तथा टिका लगाएर बिदाइ गरेका थिए ।
त्यस्तै वाइसीयल नेपाल, प्रेस सेन्टर नेपाल रुकुम पश्चिम, कखरा डट कम, रोयल क्याफे एन्ड रेस्टुरेन्टले संयुक्त रूपमा संयुक्त कार्यक्रमको आयोजना गरी डा. जिसीलाई बिदाइ गरेका हुन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिन, वाइसीयलका केन्द्रीय उपाध्यक्ष शैलेशकुमार शर्मा, माओवादी केन्द्र मुसिकोटका अध्यक्ष दलबहादुर खड्का, माओवादी केन्द्र रुकुम पश्चिमका प्रचार विभाग प्रमुख मेगराज खड्का, प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका अध्यक्ष मनिष खड्का, वाइसीयलका केन्द्रीय अनुशासन आयोग सदस्य जनक विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
सहभागीहरूले दोसल्ला, मायाको चिनो, टिका लगाएर बिदाइ गर्नुका साथै केक पनि काटेका थिए । बिदाइ कार्यक्रममा सहभागीहरूले डा.जिसीले रुकुम पश्चिमको स्वास्थ्य क्षेत्रमा गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले असहज अवस्थाबाट पनि जिल्ला अस्पताललाई सहज अवस्थामा पुर्याउन डा.जिसीको अतुलनीय योगदान रहेको बताउनुभयो ।
महिला तथा स्त्री रोग विशेषज्ञका रूपमा डा. जिसी जिल्लामा आएपछि हजारौँ बिरामीले जिल्लामै सेवा पाएको र बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनुका साथै जिल्लावासीको खर्च जोगिएको उहाँको भनाई थियो ।
त्यस्तै वाइसीयल नेपालका केन्द्रीय उपाध्यक्ष शैलेशकुमार शर्माले डा. जिसीको योगदानलाई रुकुम पश्चिमवासीले बिर्सन नसक्ने बताउनुभयो । डा.जिसीको योगदान जिल्लावासीको दिलमा रहने भन्दै उहाँले आगामी यात्रा सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
डा. जिसीले सेवाका दौरान रुकुम पश्चिम आफ्नो लागि विशेष बनेको बताउनुभयो । आफूले आफ्नो क्षमता अनुसार जिल्लावासीलाई सेवा दिएको र सेवाका दौरान लगभग रुकुम पश्चिमका सबै भागमा पुगेर सेवा गर्ने मौका पाएको उहाँको भनाई थियो ।
जिल्लावासी सबैको सहयोगमा ५ वर्षको अवधिमा कुनै पनि दिन आफूलाई असहज नभएको उहाँको भनाई थियो । जुन ठाउँमा गए पनि रुकुम पश्चिमको मायालाई सम्झिरहने उहाँले बताउनुभयो । साथै अन्य कुनै जिम्मेवारीमा फेरि पनि रुकुम पश्चिममा आएर सेवा गर्ने धोको रहेको समेत उहाँले बताउनुभयो । डा. जिसी अब सिभिल अस्पताल काठमाडौँमा कार्यरत रहनुहुने छ ।