
रुकुम पश्चिममा हालसम्म ७२ प्रतिशत धान रोपाइ सकिएको छ । जिल्लाका ६ वटै पालिका चौरजहारी नगरपालिका,मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका र आठबिसकोट नगरपालिकामा धान खेती हुने गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
कार्यालय प्रमुख भरतबहादुर बस्नेतका अनुसार जिल्लामा हालसम्म ७२ प्रतिशत बढी धान रोपाइ सकिएको छ । यो वर्ष मौसमले समेत साथ दिएकोले रोपाइको अवस्था राम्रो रहेको उहाँको भनाई छ । जिल्लामा ३ हजार ४८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उहाँले बताउनुभयो ।
यो वर्ष खेतीयोग्य सबै क्षेत्रफलमा धान खेती हुने अपेक्षा गरिएको बस्नेतले बताउनुभयो । जिल्लामा पछिल्ला वर्षहरूमा धान लगाउने क्षेत्रफल र उत्पादन उस्तै उस्तै रहेको उहाँले बताउनुभयो । सबै बाँझो जग्गामा धान खेती हुने हो भने खेतीयोग्य क्षेत्रफल सहित उत्पादनमा समेत वृद्धि आउने उहाँले बताउनुभयो ।
जिल्लामा धान खेती गर्न सक्ने सबै क्षेत्रफलमा धान खेतीका लागि सिँचाइको सुविधा देखि कृषकहरूमा सचेतनाको पाटोमा जोड दिइरहेको उहाँले बताउनुभयो । यो वर्ष धेरै ठाउँमा सिँचाइको सुविधा पुगेकोले अर्को वर्ष धान खेती हुने क्षेत्रफल र उत्पादन बढ्न सक्ने उहाँको भनाई छ ।
त्यस्तै धान उत्पादनलाई बढाउन चैते धान खेतीमा जोड दिइएको तर सोचे अनुसार विस्तार गर्न नसकिएको कार्यालय प्रमुख बस्नेतले बताउनुभयो । आगामी वर्ष त्यसतर्फ पनि विशेष रूपमा जोड दिने उहाँले बताउनुभयो । गत वर्ष जिल्लामा १२ हजार ९ सय ५५ मेट्रिक टन धान उत्पादन भएको थियो ।