Kakhara सबैको खबर सम्पूर्ण खबर
प्राविबाट लक्ष्मी, निमाविबाट कृष्णराज र माविबाट शशीराम उत्कृष्ट शिक्षकका रूपमा सम्मानित

रुकुम पश्चिमका तीन जना उत्कृष्ट शिक्षक सम्मानित भएका छन् । जिल्लाबाट छनोटमा परी उनीहरू कर्णाली प्रदेश सरकारबाट सम्मानित भएकाे शिक्षा विकास तथा समन्वय इकाई रूकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयाे । 

उहाँका अनुसार सम्मानित हुनेमा प्रावि तर्फ नेपाल राष्ट्रिय आधारभूत विद्यालय मुसिकोट नगरपालिका १२ की प्रधानाध्यापक लक्ष्मी ओली, निमावि तर्फ हिमालय मावि आठबिसकोट नगरपालिका वडा नम्बर २ खदीका प्रधानाध्यापक कृष्णराज केसी र मावि तर्फ राप्ती ज्ञानोदय मावि सानीभेरी गाउँपालिका ९ सिम्लीका मावि द्वितीय श्रेणीका शिक्षक शशीराम विश्वकर्मा रहनुभएको छ । 

कर्णाली प्रदेश सरकारले प्रदेशका आज १० वटै जिल्लाबाट छनोट भएका ३० जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान तथा पुरस्कृत गरेको हो । प्रदेशको शैक्षिक गुणस्तर सुधारमा शिक्षकहरूको योगदानको कदर गर्दै शिक्षा विकास निर्देशनालयले ‘उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम’ अन्तर्गत सम्मान गरेको हो । 

सबै तहका शिक्षकलाई जनही ३५ हजार नगद तथा सम्मान पत्रले सम्मान तथा पुरस्कृत गरिएको बताइएको छ । एक विशेष कार्यक्रमका बिच मङ्गलवार प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षकहरूलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कर्णालीको शैक्षिक भविष्य शिक्षकहरूको लगनशीलता र समर्पणमा निर्भर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो सम्मान शिक्षकहरूको मिहिनेतको कदर मात्र होइन, प्रदेशको शैक्षिक गुणस्तर उकास्नका लागि थप उत्प्रेरणा पनि हो । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ ।’

शिक्षा विकास निर्देशनालयका अनुसार शिक्षक छनोटका लागि मापदण्ड निर्धारण गरिएको थियो । प्रत्येक जिल्लाबाट प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका एक–एक गरी तीन जना शिक्षक छनोट गरिएको थियो ।

छनोट प्रक्रियामा लैङ्गिक समानतालाई ध्यानमा राख्दै प्रत्येक जिल्लाबाट कम्तीमा एक जना महिला शिक्षक अनिवार्य गरिएको थियो ।

यो सम्मान कार्यक्रमले कर्णालीका दुर्गम क्षेत्रमा रहेर काम गरिरहेका शिक्षकहरूको मनोबल उच्च बनाउनुका साथै शिक्षण पेसामा सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update