
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धौलापैरामा दुई मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । रुकुमकोटबाट मध्यपहाडी लोकमार्ग हुँदै धौलापहिरा तर्फ जाँदै गरेको रा ७ प १२६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा २९ प ४४२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी रा ७ प १२६२ नम्बरको मोटरसाइकल चालक रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नम्बर ८ का २७ वर्षीय हेमराज ओलीको टाउकोमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको छ । त्यस्तै बा २९ प ४४२७ नम्बरको मोटरसाइकल चालक रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ५ धौलापहिराका २५ वर्षीय कृष्ण खत्रीको शरीरमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको प्रहरीको भनाई छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट प्रहरी निरीक्षक मोहनकुमार खड्काको कमान्डमा ८ जनाको प्रहरी टोली खटिएको थियो ।