Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय अनुसन्धान रुकुम पश्चिमकाे कार्यालय अब आफ्नै भवनमा 

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुकुम पश्चिमको अब आफ्नै भवन भएको छ । भवन निर्माण कार्य सम्पन्न भएपछि आज एक औपचारिक कार्यक्रमका बिच कार्यालयको भवन उद्घाटन गरिएको हो । 

राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले रिबन काटेर नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभयो । हालसम्म जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय आज देखि भने आफ्नै भवनमा रहने छ । 

भवन निर्माणको जिम्मा गौरीमाई–लियोपार्ड–सञ्जीवनी जेभी काठमाडौंले लिएको थियो । तोकिएको मापदण्ड तथा समय सीमाभित्र भवन सम्पन्न गरेर हस्तान्तरण गरेको भन्दै ठेकेदार कम्पनीलाई विभागले कदर पत्रले सम्मान गरेको छ । 

त्यस्तै विभिन्न रूपमा सहयोग पुर्‍याएको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय लगायतलाई पनि कदर पत्रले सम्मान गरिएको थियो । 

भवन उद्घाटन कार्यक्रममा विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अनुसन्धान निर्देशक ओम बहादुर खड्का, जिल्ला समन्वय समिति रुकुम पश्चिमका कार्यवाहक प्रमुख देवबहादुर बिक, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उपप्रमुख विमलकुमार पुन, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न कार्यालयका प्रमुखहरू लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रमको सञ्चालन प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढाले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update