
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका इन्जिनियर सम्पर्क विहीन भएका छन् । इन्जिनियर जितेन्द्रप्रसाद यादव असार २४ गते मङ्गलवार देखि गाउँकार्यपालिका देखि सम्पर्क विहीन हुनुभएको हो । भुक्तानीको मुख्य समयमा इन्जिनियर फरार भएपछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई गुहारेको छ ।
गाउँपालिका अध्यक्ष जनककुमार बाँठा र निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखक खड्काले प्रशासनलाई पत्र लेख्दै सहयोग गर्न अपिल गर्नुभएको छ ।
कार्यालयको कामकाजमा समस्या भएकोले निजलाई कार्यालयमा उपस्थितिका लागि सहयोग गर्न अनुरोधका साथै उपस्थित नभई कार्यालयको कामकाजमा समस्या भएमा इन्जिनियरलाई जिम्मेवार बनाई विभागीय कारबाहीका लागि पनि आग्रह गरिएको छ ।
यो वर्ष गाउँपालिकाको करोडौँ रकम भुक्तानी हुने अवस्था नरहेको गाउँपालिका स्रोतले जनाएको छ । यो वर्ष गाउँपालिकाको ६ करोड बढी रकम भुक्तानी नहुने अवस्था रहेको बाँफिकोट गाउँपालिका १० का अध्यक्ष हरि चन्दले बताउनुभयो ।
उहाँका अनुसार भूकम्प प्रभावितको दोस्रो किस्ता भुक्तानी भएको छैन भने केही योजनाको बजेट भुक्तानीमा समस्या भएको छ ।