
राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ को बिचमा पर्ने पितिवाङ खोला माथिको पुल सञ्चालनमा आएको छ । केही मात्र काम भएर वर्षौँ अलपत्र परेको पुल निर्माण कार्य सम्पन्न भएर केही दिन अघिबाट सञ्चालनमा आएको हो ।
ठेकेदार कम्पनी संरक्षण निर्माण सेवाको लापरबाहीका कारण ठेक्का लागेको लामो समयसम्म पुल निर्माण कार्य अलपत्र परेको थियो । जसका कारण राप्ती राजमार्ग भएर विभिन्न जिल्ला जाने तथा विभिन्न जिल्लाबाट आउने यात्रुहरूले सास्ती भोग्न बाध्य भएका थिए ।
पुल निर्माणको काम यती विल्डर्सले सम्पन्न गरेपछि पुल सञ्चालनमा आएको हो । पुल निर्माणको लगभग काम सकिएको र अब पुलको दुई देउमा कालोपत्रे मात्र गर्न बाँकी रहेको यती विल्डर्सका साइट इन्चार्ज समीर डाँगीले जानकारी दिनुभयो । पुल निर्माणको मुख्य काम सकिएको र अब दुई तिर कालोपत्रेको काम मात्र बाँकी रहेको उहाँले बताउनुभयो ।
त्यस्तै पुलबाट सवारी साधन गुड्न सुरु भइसकेको उहाँले बताउनुभयो । अब पितिवाङ खोलामा जोखिमको अवस्था नरहेको उहाँको भनाई छ । बाँकी रहेको काम पनि केही दिनमा सकिने उहाँले जानकारी दिनुभयो ।
संरक्षण निर्माण सेवा र डिभिजन सडक कार्यालय चौरजहारी बिच २ वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो । सम्झौता अनुसार यो पुलको निर्माण कार्य २०७८ को वैशाख ७ गते हुनुपर्ने थियो । सम्झौता अनुसार काम सम्पन्न नगरेपछि गत मंसिरमा यति विल्डर्सले पुल निर्माणको काम सुरु गरेकाे थियाे ।
५ करोड २८ लाख रुपैयाँ कुल लागतमा पुल निर्माणको सम्झौता भए पनि निर्माण व्यवसायीको लापरबाहीको कारण निर्माण कार्य अलपत्र परेको पुल ६ वर्षमा बनेको हे ।
पुलको एक साइडको पिलर मात्र उठाएर अलपत्र छाडिएको थियो । यति विल्डर्सले निर्माणको जिम्मा लिएसँगै बाँकी रहेको निर्माण कार्य धमाधम अघि बढाएको थियो । पुल सिङ्गल स्पानको ३५ मिटर लामो रहेको डिभिजन सडक कार्यालय चौरजहारीले जनाएको छ ।
यो खोलामा पुल नहुँदा वर्षौँ देखि नागरिकहरुले बर्खायाममा सास्ती भोग्न बाध्य थिए । पितिवाङ खोलामा बाढी आउँदा राप्ती राजमार्ग अवरुद्ध हुने गरेको थियो भने जोखिम मोलेर खोला वारपार गर्नुपर्ने अवस्था थियो । मोटरसाइकल लगायतका सवारी साधन पैसा तिरेर वारपार गराउनुपर्ने बाध्यता समेत रहेको थियो ।