
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ पिपलनेटामा प्रहरी बिटको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले संयुक्त रूपमा प्रहरी बिटको उद्घाटन गर्नुभएको हो ।
स्थानीयले उपलब्ध गराएको जग्गामा सहयोग जुटाएर भवन निर्माण गरेपछि प्रहरी बिटको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । मध्यपहाडी लोक मार्गमा पर्ने उक्त ठाउँमा शान्ति सुरक्षाका लागि प्रहरी बिट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।
वडा नम्बर ३ का अध्यक्ष दशरथ केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजसेवी गोर्ख केसीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जिसीले नागरिक पनि बिना बर्दीका प्रहरी भएकाले नागरिक र प्रहरी बिचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनुभयो ।
मध्यपहाडी लोक मार्ग मा पर्ने पिपलनेटामा प्रहरी बिटको स्थापना भएपछि अब सवारी साधनको अनियन्त्रित चाप कम हुने र शान्ति सुरक्षामा महत्त्वपूर्ण टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रहरी बिट स्थापना भएपछि शान्ति सुरक्षामा टेवा पुग्ने भन्दै स्थानीय हर्षित भएका छन् ।
स्थानीय समाजसेवी टिकाराम खत्रीको अध्यक्षतामा रहेको उपभोक्ता समितिले भवन निर्माण गरेको हो । भवन निर्माणका लागि ६२ जना व्यक्तिहरूले सहयोग गरेको बताइएको छ । भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।
आफ्नो गाउँको सुरक्षाका लागि स्थानीय आफैले जग्गा उपलब्ध गराएको र भवन निर्माणका लागि पनि सहयोग गरेर महत्त्वपूर्ण योगदान गरेको भन्दै उहाँले सबै सहयोगीलाई धन्यवाद दिनुभयो ।