Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अदालत रुकुम पश्चिमद्वारा लक्ष भन्दा १४ प्रतिशत बढी फैसला 

जिल्ला अदालत रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०८१/०८२ मा लक्ष भन्दा बढी फैसला गरेको छ । चालु आर्थिक वर्षका लागि अदालतले ४ सय ४२ वटा मुद्दा फैसला गर्ने लक्ष निर्धारण गरेको थियो । अदालतले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी लक्ष भन्दा १४ प्रतिशत बढी मुद्दा फैसला गरेको जानकारी गराएको हो । अदालतका अनुसार चालु वर्षमा ४ सय ४२ वटा मुद्दा फर्स्यौट गर्ने लक्ष राखिएकामा लक्ष भन्दा ६४ वटा बढी अर्थात् ५ सय ६ वटा मुद्दामा फैसला भएको हो । यो लक्ष भन्दा १४.४७ प्रतिशत बढी रहेको जिल्ला अदालतका तहसिलदार लालबहादुर क्षेत्रीले पत्रकार भेटघाटका क्रममा जानकारी गराउनुभयो ।

फैसला भएका मुद्दा मध्ये ३ सय ६४ वटा फौजदारी र १ सय ४२ वटा देवानी प्रकृतिका रहेका छन् । चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका ५ सय ३ र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ७३ गरी जिल्ला अदालतमा कुल ६ सय ७६ वटा मुद्दा रहेकामा १ सय ७० वटा मुद्दा आगामी वर्षका लागि जिम्मेवारी सरेको क्षेत्रीले बताउनुभयो । जसमध्ये एउटा मात्र मुद्दा १ वर्षभन्दा पुरानो रहेको बताइएको छ । फैसला हुने कुल मुद्दामा यो वर्ष दर्ता भएका ५ सय ३ मध्ये ३ सय ३४ अर्थात् ६४.४० र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ७३ मध्ये १ सय ७२ अर्थात् ९९.४२ प्रतिशत मुद्दा फर्स्यौट भएको तहसिलदार क्षेत्रीले जानकारी गराउनुभयो ।

यसैबिच जिल्ला अदालतले मेलमिलापलाई पनि प्राथमिकता दिएको छ । यो वर्ष ७१ वटा मुद्दा मेलमिलापमा पठाइएकामा २१ वटामा मिलापत्र भएको र तीन वटा प्रक्रियामा रहेका छन् भने ४७ वटा असफल भएका छन् । त्यस्तै ४ सय १७ वर्ष ४ महिना १९ दिन कैद फर्स्यौट भएको छ भने अझै ५ सय ७४ वर्ष १० महिना २९ दिन कैद फर्स्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । जरिवाना तर्फ २ करोड ४६ लाख ९० हजार ९९ रुपैयाँ सङ्कलन गरेको छ भने अझै २ करोड ९७ लाख ५१ हजार ४ सय ४७ रुपैयाँ बाँकी रहेको छ ।

जिल्ला अदालतले चालु वर्षमा १ हजार २ सय ५५ वटा अभिलेख अनलाइनमा अपलोड समेत गरेको छ । क्षतिपूर्ति तर्फ ९४ लाख ६१ हजार ३५ रुपैयाँ रहेकामा १३ लाख ५२ हजार ८ सय २२ रुपैयाँ फर्स्यौट भएको छ भने ८१ लाख ८ हजार २ सय १३ रुपैयाँ बाँकी रहेको अदालतको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै अदालतको पीडित राहत कोषमा ५ लाख ८७ हजार ४ सय ४४ रुपैयाँ जम्मा भएको समेत जानकारी गराइएको छ । अदालतको भवन मर्मतको काम समेत जारी रहेको भेटघाटका क्रममा जानकारी गराइएको थियो ।

सबैकाे पहलमा राम्राे प्रगति भयाेः जिल्ला न्यायाधीश बस्याल
जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले सबैको सहयोगमा लक्ष पूरा गर्न सफल भएको बताउनुभयो । श्रेष्तेदार देखि अदालतका सबै कर्मचारीको सहयोगमा चालु आर्थिक वर्षमा अदालतले राम्रो प्रगति हासिल गरेको छ, कर्मचारीको सहयोग बिना न्यायाधीशले मात्र केही गर्न सक्ने अवस्था छैन, सबैको सहयोगमा यो सफलता सम्भव भयो, उहाँले भन्नुभयो । जिल्लामा पछिल्लो समय फौजदारी मुद्दाहरूमा उल्लेख्य वृद्धि भएको बताउनुभयो । यसका साथै जिल्लामा सम्बन्ध विच्छेदका मुद्दाहरू धेरै रहेको उहाँको भनाई छ ।

बालविवाह, वैदेशिक रोजगारी लगायतका कारणले सम्बन्ध विच्छेदका घटनामा वृद्धि भइरहेको अवस्थामा जिल्लामा हाल नागरिकताका लागि पनि सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको बताउनुभयो । श्रीमान् तथा घर परिवारको तर्फबाट नागरिकता प्राप्त गर्न नसक्दा महिलाहरू सम्बन्ध विच्छेद सम्म गर्न बाध्य हुँदै गएको र यस्ता घटना बढ्दै जानु चिन्ताको विषय भएको जिल्ला न्यायाधीश बस्यालले बताउनुभयो ।

श्रेष्तेदार मन्दिरा शाहीले सबै कर्मचारीको प्रयासबाट अदालतको काम कारबाहीलाई चुस्त र सहज बनाउने तथा न्याय सम्पादनलाई बढाउने गरी प्रयास भइरहेको बताउनुभयो । त्यसको प्रतिफल स्वरूप यस वर्ष अदालतले लक्ष भन्दा धेरै प्रगति हासिल गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update