
असार २९ गते रुकुम (पश्चिम) को सिम्रुतुमा २१२ औँ भानु जयन्ती भव्य रूपमा मनाइएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको आयोजना र त्रिवेणी माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रमको स्वागत मन्तव्य त्रिवेणी माध्यमिक विद्यालयका प्रअ डिल्लीबहादुर मल्लले राख्नुभएकाे थियो भने मुसिकोट खलङ्गा क्याम्पसका पूर्व क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माले आदिकवि भानुभक्त आचार्यको समग्र जीवनी समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षता र त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व सचिव भरतकुमार शर्मा, साहित्यकारहरू गिरिप्रसाद बुढा, पूर्ण ओली, मुकुन्दप्रसाद शर्मा, ओमबहादुर खत्री, शशिराम घर्ती, देवकुमारी ओली, चन्द्रा ओली, अर्जुनकुमार ओली, खिमबहादुर खडका, देवी खडका लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू तथा ठुलो सङ्ख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
सोही सिलसिलामा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिम अन्तर-माध्यमिक विद्यालय स्तरीय भानु विषयक कविता प्रतियोगिता आयोजना गरेको थियो । जसमा त्रिवेणी गाउँपालिकाभित्रका विभिन्न १० वटा विद्यालयका ३८ जना प्रतियोगीहरूले कविता वाचन गरेका थिए । उक्त प्रतियोगितामा त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुकी मेनुका ओली प्रथम साधारण मावि मुरुडाँडाका चाहना पुन द्वितीय र अन्धनाशक मावि खुम्चेरीका चेतन खड्का तृतीय तथा बाल शिक्षा मावि गैरिनेटाका जेरी डाँगी, प्रकृति ओलीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
वाचित कविताहरूको मूल्याङ्कनकर्तामा साहित्यकार त्रय गिरि प्रसाद बुढा, मुकुन्दप्रसाद शर्मा र शशिराम घर्ती रहनुभएको थियो भने विजेता विद्यार्थीहरूलाई क्रमशः सिम्रुतु क्याम्पसका उपप्राध्यापक चन्द्रा ओली, देवकुमारी ओली, कर्णबहादुर बोहरा र डिल्लीबहादुर मल्लले पुरस्कार स्वरूप शैक्षिक सामग्रीहरू प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद्का सचिव श्री ओमबहादुर खत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा कविता प्रतियोगिताको अतिरिक्त साहित्यकार पूर्ण ओलीबाट लिखित तथा निर्देशित 'मान्छेको माया' गीति नाटक प्रदर्शन गरिएको थियो । नाटक पारिवारिक जीवनमा मनोमालिन्ययता उत्पन्न भई संयोगात्मक रूपमा मेलमिलापमा टुङ्गिएको थियाे ।
नाटकमा स्वर जय देवकोटा, किरणबाबु पुन, सोनाम ल्हामु, विनीता थापा, प्रतीक्षा मल्ल, पुष्पा बोहरा, मनलाल ओली, एक्कबहादुर केसी, प्रज्वला पुन, करिष्मा पुन, सृष्टि पुन मगर, गङ्गा बुढाथोकी, चाँदनी महतारा, तुलसा रोका र दीपा बिस्ट लगायतले दिनुभएकाे थियाे ।
नाटकमा बाल विकास माध्यमिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट अभिनय गरेका थिए । नाटकको प्रमुख पात्रहरूमा समीक्षा घर्ती मगर, विवेक घर्ती मगर र करिष्मा पुन मगर रहनुभएकाे थियाे भने अन्य पात्रहरूमा सुबास ओली, सङ्गीत घर्ती मगर, वंशीका महर, यमुना गहतराज, सोनीका महर, झरना ओली, पूजा केसी, सपना डाँगी, करिस्मा गहतराज, रितु खडका, अञ्जली नगवाग, विनीता ओली, जीवन्त गहतराज, धिरेन महर, सन्देश खड्का रहनुभएकाे थियाे ।
नाटकको सन्देशको बारेमा प्रकाश पार्दै साहित्यकार पूर्ण ओलीले पछिल्लो समयमा विभिन्न कारणहरूले पारिवारिक बेमेल बढ्दै गएको र सम्बन्ध विच्छेद आत्महत्या र गत हप्ता चौरजहारीमा घटेको नृशंस पत्नी हत्या जस्ता घटनाहरू बारम्बार दोहोरिइरहेको परिप्रेक्ष्यमा हरेक परिवार र हरेक समाजमा यो नाटक देखाउनुपर्ने बताउनुभएको थियो । आदिकवि भानुभक्तले परम्परागत परिस्थितिमा बधुशिक्षा लेखेको र त्यसलाई सुधार गरेर आधुनिक युगको लागि मान्छेको माया नाटक तयार गरेको साहित्यकार ओलीले बताउनुभयाे । उहाँको अनुसार यो नाटक केही समयको अन्तरालमा मुसिकोटमा समेत प्रदर्शन गरिनेछ ।
उक्त कार्यक्रममा साहित्यकार खिमबहादुर खडकाले शार्दूलविक्रीडित छन्दमा रचित भानु विषयक कविता सुमधुर लयमा वाचन गर्नुभएको थियो भने लोकगायक बालाराम मल्लले ठाडी भाका गीत प्रस्तुत गर्नुका साथै विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न नृत्यहरू समेत प्रस्तुत गरेका थिए ।