
सान, मान उच्च, अति रवाफ
सुन्दर आभूषण, सुग्घर साफ
सेवकहरू हजुरका पाउमा पर्ने
सेवित दर्शनार्थ मरिहत्ते गर्ने
धन्य छ तिम्रो जागिर सर
देखिन्छौ तिमी अजर अमर ।
नमस्कार गर्छु म, मुन्टो बटार्छौ
हात दिन खोज्छु, अलि पछि सर्छौ
कटाक्ष गर्छौ, अनि बोली फेर्छौ
चिल्ने सर्पतुल्य नजरले हेर्छौ
रुखो छ बोली, धाक छ अजवी
कति दिनको हो सर, तिम्रो पदवी ?
शक्ति औ मदले अन्धो त्यो सेखी
वृद्धि हुन गयो कहिलेदेखि ?
योग्यता, शक्ति, सुविधा, सम्पत्ति
कहाँबाट पायौ, त्यति श्रेष्ठ स्थिति ?
खुलदुली लाग्यो, अलिकति जानूँ
मै पनि साँच्चिकै ठुलै मानूँ ।
यस्तै पदका, छन् कति जना ?
तिनको मस्ती छ, तिम्रै समान ?
क्याम्पसमा थियो तिम्रो, कुन स्थान ?
कल्ले गरिदियो पदस्थापन ?
सुविधा पद त्यो, हो आजीवन ?
बिन्ती छ मलाई, सुटुक्क भन ।
निच् प्रवृत्तिले आर्जेको शक्ति
दुर्जनहरूको गरी गरी भक्ति
कानुनले नभने’नि “भ्रष्ट छ”
नियति तिम्रो प्रस्ट छ ।
तथापि ठान्दछौ अरूलाई साना
गर्दैनन् जसले स्व स्फूर्त मान ।
राज्यले दियो जुन अधिकार
जनताको घरदैलोसम्म उतार
तिनै हुन् तिम्रा, शक्तिका स्रोत
अभाव, अज्ञानताले घायल ग्रस्त
अहमता त्यागी जनमाझ आऊ
शिष्टताले मलहम लगाऊ
मधुर बोल अघि पछिभन्दा
पद-शिष्टता बन्छ सुनमा सुगन्ध ।