रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ भेरीमा निर्माणाधीन बसपार्क जोड्ने बाटोको सर्भेको काम सकिएको छ । वडा नम्बर १ को सल्लेबाट बसपार्क जोड्ने सडकको सर्भे सम्पन्न भएको हो । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले सर्भेको काम सम्पन्न गरेर स्टामेटको काम सुरु गरेको हो ।
यस सडकका लागि उक्त कार्यालयबाटै ३ करोड बजेट विनियोजन भएको छ । उक्त बजेट मार्फत सडक निर्माणका लागि सर्भेको काम सकेर स्टामेट तयार पार्ने काम सुरु भएको कार्यालयका साइट इन्जिनियर प्रमोद भट्टराईले जानकारी दिनुभयो । फिल्डमा खटिएर सर्भेको काम सकेर स्टामेट तयार पार्ने काममा लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार अब केही दिनमा टेन्डर खुल्ने छ ।
सबै प्रक्रिया पुर्याएर पुस महिनाको अन्तिमबाट सडकको काम समेत सुरु हुने इन्जिनियर भट्टराईको भनाई छ । सल्लेबाट भेरीमा निर्माणाधीन बसपार्कसम्म पुग्नका लागि सडकको ट्याक खुलिसकेको छ । तर साँघुरो भएका कारण अहिले बस जान सक्ने अवस्था छैन । ट्याक खुलेको वर्षौँसम्म पनि बसपार्क जोड्ने सडक स्तरोन्नति हुन सकेको छैन ।
उता बस पार्क निर्माणको काम पनि अलपत्र परेको छ । बसपार्कमा टिकट काउन्टरका लागि भवन निर्माण भइसकेको छ । त्यस्तै जमिन सम्म्याउने काम पनि थोरै मात्रामा भएको छ । तर वर्षौँ देखि बसपार्क निर्माणको काम अलपत्र अवस्थामा रहेको छ । जसका कारण मुसिकोटमा पार्किङ अस्तव्यस्त छ ।
एकातिर राज्यको लगानी बालुवामा पानी भएको छ भने अर्कोतिर बसपार्कको अभावमा सडकमै यत्रतत्र पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । जसका कारण अस्तव्यस्तता बढेको छ भने सवारी दुर्घटनाको जोखिम समेत बढेको छ । साथै बसपार्क अनुपयुक्त ठाउँमा बन्न लागेको भन्दै गुनासाहरू बढिरहेका छन् । सुरक्षा चुनौती लगायतका कारण उक्त ठाउँमा बसपार्क उपयुक्त नभएको आवाजहरू उठिरहेका छन् ।





-1759842583.jpg)