Kakhara सबैको खबर सम्पूर्ण खबर
श्रीमतीको हत्या गर्ने चन्द्रबहादुर पुर्पक्षका लागि कारागार चलान,  छाेराछाेरीलाई ७ लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश 
चन्द्रबहादुर बुढाथाेकी ।

खुकुरी प्रहार गरेर आफ्नै श्रीमती देवीका बुढाथोकीको हत्या गर्ने रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ३ टाटागाउँका चन्द्रबहादुर बुढाथोकीलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको आजको इजलासले चन्द्रबहादुर बुढा भनिने चन्द्रबहादुर बुढाथोकीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।

तत्काल प्राप्त प्रमाणहरूबाट प्रतिवादी बुढा अहिले नै अभियोग माग दाबी बमोजिमको कसुरमा निर्दोष छन् भन्ने नदेखिएकोले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम नै हुने हुँदा हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम थुनुवा पुर्जी दिई सोही संहिताको दफा ६७ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्न आदेश भएको छ ।

३२ वर्षीय चन्द्रबहादुरले गत असार १७ गते श्रीमती ३० बर्सिया देवीका बुढाथोकीको सामान्य घरायसी विवादमा खुकुरी प्रहार गरी बीभत्स हत्या गरेका थिए । 

छोराछोरीलाई ७ लाख क्षतिपूर्तिको आदेश
यसैबिच जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले उक्त घटनामा पीडित छोरा छोरीलाई ७ लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश गर्नुभएको छ । सिधै नेपाल सरकारबाट व्ययभार हुने गरी पीडित राहत कोषबाट सात लाख रुपैयाँ अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा २९ बमोजिम क्षतिपूर्ति उपलब्ध गराउन न्यायाधीश बस्यालले आदेश गर्नुभएको हो ।

मृतक र प्रतिवादीका छोराछोरी नाबालक रहेको तथा उनीहरूको रेखदेख, पालनपोषण र संरक्षणका लागि परिवार समेत नभएको भन्ने अभियोग पत्रमा खुलाई अन्तरिम रूपमा क्षतिपूर्ति स्वरूप राहत रकम उपलब्ध गराउन माग गरिएको देखिदा उक्त नाबालकहरू प्रति राज्यको अभिभावकीय भूमिका हुने नै हुँदा नेपाल सरकारबाट व्ययभार हुने गरी पीडित राहत कोषबाट क्षतिपूर्ति भराउन आदेश भएको छ । 

‘मानसिक रूपमा असर गर्ने भिडिओ सामग्री हटाउनु’ 
त्यस्तै घटना सम्बन्धी मानसिक रूपमा असर पार्ने खालका युट्युब सामग्रीहरू हटाउन पनि आदेश भएको छ ।

घटना पश्चात् विभिन्न सञ्चार माध्यममा समाचार आएको र युट्युबमा आएका भिडिओहरू हेर्दा बालबालिकालाई पीडामाथि थप पीडा हुने गरी प्रश्न सोधेको देखिएको र भविष्यमा समेत यस्ता भिडिओहरू रहिरहेको अवस्थामा गम्भीर असर पर्न जाने देखिदा त्यस्तो मानसिक असर पार्ने खालका युट्युब सामग्रीहरू बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखी तत्काल हटाउन गृह मन्त्रालय र प्रेस काउन्सिल नेपाललाई लेखि पठाउन आदेशमा भनिएको छ ।

यसका साथै घटनापछि बालबालिकाका लागि भनेर विभिन्न सहयोग अभियान सञ्चालन भएकामा उक्त अभियानबाट बालबालिकाका लागि सङ्कलन भएको रकम बालबालिकाकै हितमा प्रयोग गर्न आदेश भएको छ । सहयोग रकमलाई दुरुपयोग हुन नदिनका लागि स्थानीय निकायसँग समन्वय सहजीकरण गरी आवश्यक व्यवस्था मिलाउनू भनी प्रमुख जिल्ला अधिकारीका लेखि पठाउनु भनी आदेश भएको छ ।  

 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update