Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमबाट कर्णाली प्रदेशको आधा अर्ब बढी बजेट फ्रिज 

बितेको आर्थिक वर्ष २०८१/०८२ मा रुकुम पश्चिमबाट प्रदेश तर्फको ठुलो रकम फ्रिज भएको छ । कर्णाली प्रदेश सरकारबाट विभिन्न शीर्षकमा आएको आधा अर्ब बढी रकम खर्च हुन नसकी जताबाट आएको हो उतै फिर्ता गएको हो । स्थानीय सरकार र प्रदेश मातहतका कार्यालयहरूले सबै रकम खर्च गर्न नसक्दा ठुलो रकम फ्रिज भएको छ । 

स्थानीय सरकार र प्रदेश मातहतका कार्यालयबाट ६२ करोड ८४ लाख ६० हजार ६ सय ८३ रुपैयाँ ५१ पैसा फ्रिज भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमले जनाएको छ । कार्यालयका अनुसार बितेको आर्थिक वर्षमा कर्णाली प्रदेशबाट कुल २ अर्ब ६४ करोड १५ लाख ७८ हजार ५ सय बजेट आएकामा २ अर्ब १ करोड ३१ लाख १७ हजार ८ सय १६ रुपैयाँ ४९ पैसा खर्च भएको छ । 

यो कुल बजेटको ७६.२१ प्रतिशत रहेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख यामबहादुर पुनले जानकारी दिनुभयो । फ्रिज हुनेमा अधिकांश बजेट विकासे बजेट अर्थात् पुँजीगत बजेट रहेको उहाँले बताउनुभयो । यो शीर्षकको ५० करोड १४ लाख ९६ हजार १ सय १९ रुपैयाँ ७८ पैसा फ्रिज भएको छ । 

पुँजीगत तर्फ १ अर्ब ७५ करोड ९९ लाख ९३ हजार बजेट जिल्लामा प्राप्त भएकामा त्यसको ७१.५१ प्रतिशत अर्थात् १ अर्ब २५ करोड ८४ लाख ९६ हजार ८ सय ८० रुपैयाँ २२ पैसा खर्च भएको पुनको भनाई छ । त्यस्तै चालु तर्फ १२ करोड ६९ लाख ६४ हजार ५ सय ६३ रुपैयाँ ७३ पैसा फ्रिज भएको छ ।

चालु शीर्षकमा प्रदेशबाट जिल्लामा ८८ करोड १५ लाख ८५ हजार ५ सय रुपैयाँ आएकामा ७५ करोड ४६ लाख २० हजार ९ सय ३६ रुपैयाँ २७ अर्थात् ८५.६० प्रतिशत खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख पुनको भनाई छ । 

फ्रिज भएको कुल रकम ६२ करोड ८४ लाख ६० हजार ६ सय ८३ रुपैयाँ ५१ पैसा मध्ये स्थानीय तहको ४ करोड २६ लाख १४ हजार ७ सय ६९ रुपैयाँ ४८ पैसा रहेको छ । कार्यालय प्रमुख पुनका अनुसार स्थानीय तहमा आएको सशर्त, समपूरक, विशेष र समानीकरण अनुदान रकमको उक्त रकम फ्रिज भएको हो । 

1000054286-1753372772.png
सबैभन्दा बढी त्रिवेणी गाउँपालिकाबाट १ करोड ४९ लाख ४ हजार ७ सय ४८ रुपैयाँ फ्रिज भएको छ । अन्य पालिकामध्ये चौरजहारी नगरपालिकाबाट ९२ लाख २२ हजार २ सय ३६ रुपैयाँ ४४ पैसा, मुसिकोट नगरपालिकाबाट ६७ लाख ६१ हजार ५ सय १० रुपैयाँ, बाँफिकोट गाउँपालिकाबाट ५४ लाख १७ हजार ७ सय ७५ रुपैयाँ, आठबिसकोट नगरपालिकाबाट ३४ लाख १८ हजार ६ सय ७३ रुपैयाँ र सानीभेरी गाउँपालिकाबाट २८ लाख ८९ हजार ८ सय २६ रुपैयाँ ९५ पैसा फ्रिज भएको छ । 

बितेको आर्थिक वर्षमा रुकुम पश्चिम जिल्लाबाट कुल ८७ कराेड ९३ लाख ७७ हजार ६ सय ४९ रुपैयाँ फ्रिज भएको छ । सङ्घ र प्रदेश तर्फ गरी उक्त रकम जिल्लाबाट खर्च नभई फिर्ता भएको हो । सङ्घबाट आएको २५ करोड ९ लाख १६ हजार ९ सय ६५ रुपैयाँ ९७ पैसा फ्रिज भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update