
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले रुकुम पश्चिमका सबै पालिकामा पालिका अधिवेशन सम्पन्न गरेको छ । साउन २६ गते बाँफिकोट गाउँपालिकाबाट सुरु भएको रास्वपाको पालिका अधिवेशन शनिबार मुसिकोट नगरपालिकाको अधिवेशन संगै सम्पन्न भएको हो ।
रास्वपाले पालिका अधिवेशन मार्फत आयोजक समिति निर्माण गरेको जनाएको छ । तीन सबै पालिकामा तीन महिनाका लागि आयोजक समिति निर्माण गरिएको रास्वपा रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबै पालिकामा सर्वसम्मत रुपमा आयोजक समिति निर्माण गरिएको हो । मुसिकोट नगरपालिकामा पदमबहादुर ददेल, चौरजहारी नगरपालिकामा प्रवीण बुढाथोकी, आठबिसकोट नगरपालिकामा सरोज केसी, बाँफिकोट गाउँपालिकामा बालकृष्ण गौतम, त्रिवेणी गाउँपालिकामा गणेशबहादुर खत्री र सानीभेरी गाउँपालिकामा मदन ओलीको अध्यक्षतामा पालिका अधिवेशन आयोजक समिति गठन भएको सभापति शाहीले बताउनुभयो ।
नगरपालिकामा १३ र गाउँपालिकामा ११ सदस्यीय समिति बनाइएको र यी समितिले तीन महिनाका लागि कामगर्ने छन् । मंसिरमा हुने जिल्ला अधिवेशन अघि सबै पालिकामा नयाँ नेतृत्व चयन हुने उहाँको भनाई छ । आगामी फागुन ७–९ गतेसम्म चितवनमा हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि जिल्लामा पालिका समिति निर्माण गरिएको पार्टीले जनाएको छ ।
पालिका आयोजक समिति निर्माणसँगै अब वडा अधिवेशन चल्ने रास्वपाका जिल्ला सभापति शाहीले जानकारी गराउनुभयो । वडा अधिवेशन सकिएपछि पालिकाको नेतृत्व चुन्ने र आगामी मंसिरमा जिल्ला अधिवेशन हुने रास्वपा रुकुम पश्चिमले जनाएको छ ।