
सचेत युवा समाज नेपाल रुकुम पश्चिमले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । नजिकिँदै गरेको चाडपर्व दसैँ तिहारमा हुन सक्ने समस्यालाई लक्षित गरी विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीलाई ज्ञापन पत्र बुझाएको हो । सचेत युवा समाज नेपाल रुकुम पश्चिमका सचिव सोमपाल कामीको नेतृत्वमा ९ बुँदे माग राख्दै सचेत युवा समाजले ज्ञापन पत्र बुझाएको हो ।
सचेत युवा समाज नेपालले विगत केही समयदेखि समाज भएका विभिन्न किसिमका समस्यामा आवाज उठाउँदै, समाधानमा सहकार्य, सहजीकरण र सहयोग गर्दै आएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । देशमा पछिल्लो राजनीतिक अन्यौलता र नजिकिँदै गरेको चाडपर्वहरूलाई मध्यनजर गर्दै समाजमा भएका र हुनसक्ने तत्कालीन समस्याहरूको समाधानको लागि प्रमुख जिल्ला अधिकारी थानीलाई विभिन्न भाग राख्दै ज्ञापन पत्र बुझाएको संस्थाका सचिव कामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चाडपर्वको अवसर पारी महँगीमा बढ्ने र कालोबजारी हुनसक्ने भएकाले व्यवसायीलाई अनिवार्य मूल्य सुची राख्न लगाई त्यसको अनुगमन समेत गरी उपभोक्तालाई सस्तो, सुलभ र वास्तविक मूल्यमा खाद्यान्न, इन्धन, लत्ताकपडा, माछा मासु, तरकारी, फलफूल लगायतका खाद्यान्न सामग्री उपलब्धतामा ध्यान दिनुपर्ने माग राखिएको छ । त्यस्तै म्याद गुज्रिएका अखाद्य वस्तुहरू, विषादी प्रयोग गरिएका फलफूल र तरकारी र सडेका माछामासुजन्य वस्तुको बिक्री वितरण रोक लगाई उपभोक्ताहरूलाई गुणस्तरीय र स्वास्थ्यकर खाद्य सामग्री उपलब्ध बनाउनुका साथै कृत्रिम अभाव सिर्जना गर्ने र अखाद्य वस्तु विक्री गर्ने व्यवसायीहरूको सूक्ष्म अनुगमन गरी कानुन बमोजिम कारबाही गर्नुपर्ने, यातायात क्षेत्रमा वैज्ञानिक भाडा दर कायम गरी चाडपर्वको बेला नियमित भन्दा भाडा दर सहुलियतपूर्ण बनाउनुका साथै सडक मर्मतमा ध्यान दिनुपर्ने माग राखिएको छ ।
त्यस्तै गरी चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटनाहरू, झैँ– झगडा, जुवातास, लागूपदार्थको ओसारपसार, चोरी, लुटपाट जस्ता विषयहरूलाई रोकथाम तथा नियन्त्रण गर्न सम्बन्धित निकायले पूर्वतयारी गर्नुका साथै विभिन्न सचेतना मूलक सन्देशको प्रवाह गर्नुपर्ने, बैङ्क, लघुवित्त वित्तीय संस्था, सहकारी, मिटरबाजी, सुद्खोरले चाडपर्वको बेलामा ऋणीहरूलाई मानसिक तनाव दिने जस्ता कार्यहरू गरिरहेको गुनासो आउने भएकाले चाडपर्वको अवधिभर यस्ता गतिविधि हुन नदिन आवश्यक पहल लिई सेवाग्राहीले जम्मा गरेको रकम बिना सर्त फिर्ता गर्ने वातावरण सिर्जना गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
राजनीतिक सङ्क्रमण र चाडपर्वको मौकामा जिल्लामा अवैध रूपमा हुने नदीनाला दोहन, सार्वजनिक जग्गा हिनामिना अतिक्रमण, काठ तस्करी र अवैध रूपमा सञ्चालन भइरहेका क्रसरहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने, जिल्ला प्रशासन कार्यालय, सबै स्थानीय तहहरू र जिल्लाका सबै सरकारी कार्यालयहरूको आर्थिक लेखा परीक्षण प्रतिवेदन सञ्चार माध्यमबाट एकीकृत रूपमा सार्वजनिक गर्नुपर्ने, .सरकारी तथा गैरसरकारी निकायमा हुने भ्रष्टाचार, अनियमितताको नियन्त्रण गर्नुपर्ने, बजारमा भएको फोहोर व्यवस्थापनको लागि विशेष ध्यान दिनुपर्ने माग सहित सचेत युवा समाज नेपाल रुकुम पश्चिमले ज्ञापन पत्र बुझाएको हो ।