Kakhara सबैको खबर सम्पूर्ण खबर
तेस्रो जनक–सुदन स्मृति कप भलिबलको उपाधि सिस्ने ६ लाई 

रुकुम पश्चिमको मुसिकोट खलङ्गामा आयोजित तेस्रो जनक–सुदन स्मृति कप रनिङ शिल्ड खुला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि सिस्ने गाउँपालिका ६ रुकुम पूर्वले जितेको छ । आज भएको फाइनलमा रुकुम भलिबल मुसिकोट ७ लाई ३–१ को सेटमा पराजित गर्दै सिस्ने ६ ले शिल्ड जितेको हो । 

खलङ्गाको बराहटाकुरामा भएको फाइनलमा पहिलो सेट सिस्ने ६ ले २७–२५ ले जितेकामा तेस्रो सेट निकै प्रतिस्पर्धात्मक अवस्थामा ३४–३२ र चौथो सेट २५–१९ ले जित्दै उपाधिमा कब्जा गरेको हो । दोस्रो सेट भने रुकुम भलिबल टिमले २५–१४ को सहज अवस्थामा जितेको थियो । 

विजेता बनेको सिस्ने ६ ले नगद १ लाख १५ हजार, शिल्ड, कप, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उप विजेता रुकुम भलिबल टिमले नगद ७५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।

प्रतियोगितामा रुकुम पश्चिमको सानीभेरी ५ तृतीय बनेको छ । आजै भएको तेस्रो स्थानको प्रतिस्पर्धामा बाँफिकोट गाउँपालिका २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै सानीभेरी ५ ले तेस्रो स्थान हासिल गरेको हो । उसले नगद ५१ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । 

सान्त्वना बनेको बाँफिकोट २ ले नगद २५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको उहाँले बताउनुभयो । त्यस्तै विभिन्न व्यक्तिगत इभेन्टमा खेलाडी पुरस्कृत गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता सिस्ने गाउँपालिका ६ का माधव परियार घोषित भएका छन् । उनले ट्रफि र नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन् । 
उप विजेता रुकुम भलिबलका भीम पाण्डे उत्कृष्ट स्पाइकर, रुकुम भलिबल टिमकै प्रेम विष्ट उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो सिस्ने ६ का चन्द्र बुढाथोकी, सिस्ने ६ कै हरि थापा उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर सानीभेरी ५ का कविकमल वस्नेत र बाँफिकोट १० का सुदन गिरी उदीयमान खेलाडी बनेका छन् । उनीहरूले ट्रफि र समान २ हजार नगद प्राप्त गरेका छन् । 

असोज १ गतेबाट सुरु भएको प्रतियोगितामा रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका २४ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । सुरुको वर्ष र गत वर्ष महिला पुरुष भलिबल आयोजना गरेको प्रशिक्षण केन्द्रले यस पटक भने पुरुष भलिबल प्रतियोगिता मात्र आयोजना गरेको हो । 

भलिबल खेलाडी द्वय स्वर्गीय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २०८० सालदेखि जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको आयोजना गरिरहेको छ । दुवै जनाको २०७४ सालमा गाडी दुर्घटनामा मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update