
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ तल्ला लामाचौरका १३ वर्षीय डिल्ली नाथको हत्या उनका साथीहरूबाटै भएको खुलेको छ । हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेर रुकुम पश्चिम प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाएको छ । पक्राउ परेका मध्ये १ जना १९ वर्षीय नवीन नाथ र अर्का एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
नाबालकको नाम खुलाइएको छैन् । उनीहरू दुवैले डिल्लीको हत्या गरेको स्वीकार गरेको घटनास्थलको अनुसन्धानबाट पनि उनीहरूले नै हत्या गरेको पुष्टि भएको उहाँले बताउनुभयो । पक्राउ परेका मध्ये नवीनले चक्कु र डुङ्गाले तथा अर्का व्यक्तिले डुङ्गाले हानेर हत्या गरेको स्वीकार गरेको उहाँको भनाई छ । उनीहरू तीन जना साथी साथी हुन् ।
तीन जनालाई केही समय अघि गाउँकै एक पसलमा चोरी गरेको आरोप लागेको थियो । घटना सामान्य भएकोले उक्त कुरा भित्र भित्रै मिलाइएको थियो । तर तीन जना बिचमा चोरीको विषयमा आरोप प्रत्यारोप भइरहेको पाइएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक पुनले बताउनुभयो । सोही विवादका कारण दुई जना साथी मिलेर डिल्लीको हत्या भएको पाइएको उहाँको भनाई छ ।
सोमबार दिउसो देखि बेपत्ता भएका डिल्ली मङ्गलवार बिहान लामाचौर नजिकैको भूते खोला भन्ने ठाउँमा मृत फेला परेका थिए । शरीरमा धारिलो हतियार प्रहार भएको देखिएपछि प्रहरीले हत्या आशङ्कामा अनुसन्धान सुरु गरेको थियो । प्रहरीले मङ्गलवार नै डिल्लीको हत्या आशङ्कामा २ जनालाई पक्राउ गरेको थियो । घटनाको थप अनुसन्धान जारी नै रहेको प्रहरीले जनाएको छ ।