
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सानीभेरी प्रिमियर लिग (एसपिएल) खुला पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । आज एक कार्यक्रमका बिच कर्णाली प्रदेशका पूर्व मन्त्री विमला केसी र सानीभरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
आयोजक एसपिएल सञ्चालक समितिका अध्यक्ष मदन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले आफू कर्णाली प्रदेशमा हुँदा बेल्टापु रंगशाला निर्माणका लागि बजेट विनियोजनका लागि पहल गरेको र यसको पूर्णताका लागि अझै पनि लागि पर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष विष्टले गाउँपालिकाले अघिल्लो वर्ष देखि क्रिकेटका लागि बजेट विनियोजन गरिरहेको जानकारी गराउँदै यो वर्ष पनि बजेट रहेको र अपुग भएमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । क्रिकेट सहित सम्पूर्ण खेलको विकासका लागि पालिकाले ध्यान दिइरहेको उहाँको भनाई थियो ।
वडा नम्बर ३ को बेल्टापु रङ्गशालामा सुरु भएको प्रतियोगिता असोज २७ गतेसम्म चल्ने आयोजक एसपिएल सञ्चालक समितिका अध्यक्ष मदन ओलीले जानकारी दिनुभयो । प्रतियोगिता जिल्ला क्रिकेट सङ्घ रुकुमसँगको समन्वयमा आयोजना गरिएको हो । प्रतियोगिता देश तथा विदेशमा रहेका व्यक्तिहरूसँग सहयोग जुटाएर आयोजना गरिएको हो ।
प्रतियोगितामा रुकुम पश्चिम, जाजरकोट, सल्यान, रोल्पा र दाङका गरी २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार एक सय ११ रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले ६० हजार तथा सान्त्वना हुने २ टिमले समान १० हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । म्यान अफ द सिरिजले नगद ५ हजार पुरस्कार पाउँदा वेस्ट ब्याट्सम्यान, वेस्ट बलरले समान २ हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार पुरस्कार पाउने ओलीले बताउनुभयो । सबैलाई ट्रफि, मेडल र प्रमाणपत्रको समेत व्यवस्था छ ।
खेल खुला पालिका स्तरीय रहेको र प्रत्येक टिमले पालिका बाहिरका तीन जना खेलाडी राख्न पाएका छन् । यसले सबै टिमलाई सन्तुलित बनाउने आयोजकको विश्वास छ । प्रतियोगिता टेनिस बलबाट भइरहेको छ । पुरस्कार राशिका हिसाबले यो जिल्लाको हालसम्मको ठुलो क्रिकेट प्रतियोगिता हो ।
जिल्लाको क्रिकेट विकासमा टेवा पुर्याउने उद्देश्यले सानीभेरी प्रिमियर लिग आयोजना गरिएको बताइएको छ ।