नेपाली कम्युनिस्ट पार्टी (साबिक माओवादी केन्द्र) रुकुम पश्चिमले जिल्लाका सबै पालिकामा भेला गरेको छ । नेकपा एकीकृत समाजवादी लगायतका दलसँग पार्टी एकता भएपछि पार्टी पहिलो पटक पालिका पालिकामा पुगेको हो ।
पार्टी एकताको भाव सम्प्रेषण र फेरिएको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका सबै पालिकामा पुगेर नेता, कार्यकर्ता तथा सहिद परिवारसँग छलफल गरिएको जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । सौहार्द र उत्साहपूर्ण रूपमा भेलाहरू सकिएको उहाँले बताउनुभयो ।
एकताको पक्षमा असन्तुष्ट हुँदै जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान सुरु गरेपछि जिल्लामा साबिक माओवादी भित्र हलचल मच्चिएको छ । लामो समय नेतृत्वमा रहनुभएका शर्माले प्रचण्डबाट पार नलाग्ने भन्दै छुट्टै अभियान घोषणा गरेपछि सबैभन्दा तरङ्गित रुकुम पश्चिम बनेको छ ।
जनार्दनको अभावमा पार्टीमा क्षति हुन नदिने रणनीति सहित माओवादी पालिका पसेको हो । बाँफिकोट गाउँपालिकाबाट सुरु भएको अभियान आज मुसिकोटमा पुगेर सम्पन्न भएको जिल्ला संयोजक रोकाले जानकारी दिनुभयो । विशेष गरी पार्टी कार्यकर्ता र सहिद परिवारसँग छलफल गरिएको उहाँको भनाई छ ।
जिल्लाभरिको बसाइँपछि नेता कार्यकर्ताहरू फुटको पक्षमा नदेखिएको उहाँले दाबी गर्नुभयो । नेता कार्यकर्ताहरू, सहिद परिवार एकताकै पक्षमा अडिग देखिनुभयो, जनार्दनले छोड्नु गलत हो, यस्तो गर्न हुन्थेन भन्नेमा स्पष्ट रहेको पायौँ, उहाँले भन्नुभयो ।
जनार्दनले रुकुमेलीलाई धोका दिएको तल्लो स्तरका कार्यकर्ता, सहिद परिवार र सुवेच्छुकहरुको भनाई रहेको उहाँले बताउनुभयो । भेलाहरूबाट जनार्दन नभए पनि जिल्लामा जनमत कमजोर हुन नदिने र पुरानो वर्चस्व कायम गर्ने निष्कर्ष समेत निकालिएको उहाँले बताउनुभएको छ ।
जिल्लालाई फन्को मार्दा रुकुम एकताको पक्षमा दह्रो उभिएको स्पष्ट भएको जिल्ला संयोजक रोकाको भनाई छ । रुकुम पश्चिम जनार्दनको गृह जिल्ला हो । तर नेतृत्व तहमा अधिकांशले उहाँको साथ छोडेर प्रचण्डको पक्षमा उभिएका छन् । जनार्दनले अभियान मात्र घोषणा गरेकोले पार्टी बन्दासम्मको लागि पर्ख र हेर को अवस्थामा रहेको जमात पनि जिल्लामा ठुलो देखिएको छ ।





-1759842583.jpg)