नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमको जिल्ला स्तरीय एकता सन्देश सभा आगामी पुस २६ गते हुने भएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा सभा आयोजना गरिएको छ । जिल्ला स्तरीय एकता सन्देश सभा कार्यक्रमलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका सहसंयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हिजो जिल्ला पार्टी कार्यालय मुसिकोट नगरपालिका ५ सेरिगाउँमा बसेको पार्टीको विस्तारित बैठकले जिल्ला स्तरीय एकता सन्देश सभा गर्ने सहित अन्य विभिन्न निर्णय गरेको साबिक माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले जिल्ला समन्वय समिति र पालिकाहरूमा स्थानीय तह दलको बैठक आयोजना गर्ने, पार्टी एकता र एकीकरणको सन्दर्भमा स्थानीय तह दलहरूको एकीकरण गर्ने दुवै पार्टीले संयुक्त निर्णय गरेको छ । त्यस्तै २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिहरूको दलीय आबद्धता सनाखत गर्ने, पार्टी एकतामा सामेल भएका साबिक नेकपा माओवादी केन्द्र र साबिक नेकपा एकीकृत समाजवादीबिच आपसी सहमतिमा टोल र वडा कमिटीबाट सङ्गठनात्मक एकीकरण सम्पन्न गर्दै जाने दुवै पार्टीको संयुक्त निर्णय भएको जिल्ला संयोजक रोकाले जानकारी दिनुभयो ।
नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी बिच एकता भएपछि बुधवार जिल्लामा बसेको बैठक नेकपाको पहिलो बैठक समेत हो । साबिक माओवादी केन्द्रका केन्द्रीय सदस्य वसन्तकुमार शर्माको अध्यक्षतामा भएको बैठकमा साबिक नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य देवी ओली, जिल्ला अध्यक्ष सुरज परियार, लगायत नेपाली कम्युनिस्ट पार्टीका अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।




-1759842583.jpg)