Kakhara सबैको खबर सम्पूर्ण खबर
एन.भि.ए. कपमा रुकुम पश्चिमले भाग लिने, पाकिस्तानी माजर अलि लगायतले खेल्ने 

नेपाल भलिबल सङ्घको आयोजनामा हुन लागेको नवौँ एन.भि.ए. महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत रुकुम पश्चिमले पुरुष भलिबलमा भाग लिने भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले कर्णाली प्रदेश भलिबल सङ्घ सँगको समन्वयमा पुरुष तर्फ टिम सहभागी बनाउन लागेको हो । च्याम्पियनसिप यही पुस ११ गते देखि २० गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्ड हलमा हुँदै छ ।

जसमा सहभागी हुने जानकारी सहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले टोलीको घोषणा गरेको छ । प्रशिक्षण केन्द्रका अध्यक्ष तथा टिम प्रशिक्षक तेज बुढाका अनुसार टिममा पाकिस्तानका माजर अलि खान सहित ३ जना खेलाडी रहने छन् । नेपाली भलिबल समर्थकका बिचमा माजर अलि परिचित नाम हो भने उनी नेपालमा सफल समेत छ ।

उनले टिप टप हेल्प नेपालबाट खेलिसकेका छन् भने टिमलाई च्याम्पियन पनि बनाएका छन् । उनीसँगै टिममा पाकिस्तानकै वालिद खान र अहमद खान समेत रहने बुढाले जानकारी गराउनुभयो । टिम क्याप्टेनमा शैलेन्द्र शाही रहँदा अन्य खेलाडीमा जीवन शाही, डायमन्ड खड्का, रोशन खड्का, विकास गिरी, पुष्करसिंह धामी, गोपाल खनाल, मानसिंह विक र पवन थापा मगर रहेका छन् ।

प्रशिक्षकमा तेज बुढा, सहायक प्रशिक्षकमा दुर्गा रेग्मी र टिम व्यवस्थापकमा यमन बाँठा मगर रहनुभएको छ । रुकुमले यो स्तरको प्रतियोगितामा पहिलो पटक भाग लिन लागेको प्रशिक्षण केन्द्रका अध्यक्ष तथा प्रशिक्षक बुढाले बताउनुभयो । सहयोग जुटाएर टिम लिएर जान लागेको उहाँले बताउनुभयो । यसले जिल्लाको भलिबल विकासमा टेवा पुर्याउनुका साथै जिल्लाको पहिचानलाई उँचो बनाउने उहाँको विश्वास छ ।

volleyball-1766139977.jpg
  

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update