Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा रुकुम पश्चिमद्वारा प्रत्यक्ष तर्फ गोपाल शर्मा एकल सिफारिस

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फ गोपाल शर्मा अनललाई एकल रूपमा सिफारिस गरेको छ ।

हालसम्म रुकुमबाट चुनाव जित्दै आउनुभएका जनार्दन शर्मा प्रभाकर एकतामा नगई प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरेपछि रुकुम पश्चिमलाई चासोका साथ हेरिएको छ । साबिक माओवादीको राम्रो जनमत रहेको रुकुम पश्चिम अब प्रचण्ड र जनार्दनको प्रतिष्ठाको लडाइ बनेको छ । 

लामो समय प्रभाकरको साथमा रहेका र हाल प्रचण्ड सँगै रहेका नेताहरू रुकुमको विरासत जोगाउने दाबी गरिरहेका छन् । आफूहरू एक रहेको बताइरहेका उनीहरूले त्यसलाई पुष्टि गर्न आज जिल्ला सदरमुकाम मुसिकोट ५ शेरिगाउँमा बसेको जिल्ला कमिटी बैठकबाट शर्मालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेका हुन् । 

एकतामा जोडिएको नेकपा एकीकृत समाजवादीलाई एउटा समानुपातिक उम्मेदवार लिएर साबिक माओवादीका नेता शर्मालाई प्रत्यक्ष तर्फ सर्वसम्मत गरिएको हो । उहाँ २०७४ मा कर्णाली प्रदेश सभा सदस्य बन्नुभएको थियो । उहाँ अर्थमन्त्री समेत बन्नुभएको थियो ।

त्यस्तै नेकपा रुकुम पश्चिमले समानुपातिक तर्फ ४ जनाको नाम सिफारिस गरेको छ । भने एक जनालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ ।

समानुपातिक तर्फ जनजातिबाट त्रिवेणी गाउँपालिकाका झक्कुप्रसाद घर्ती, दलित तर्फ आठबिसकोट नगरपालिकाका सुरजकुमार परियार, दलित महिला तर्फ आठबिसकोटकै गीता नेपाली र खस आर्यबाट बाँफिकोट गाउँपालिकाकी झरना चन्द शाहीलाई सिफारिस गरिएको साबिक माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।

समानुपातिक तर्फ सिफारिस भएका मध्ये सुरजकुमार परियार साबिक नेकपा एसका हुनुहुन्छ भने अन्य सबै माओवादीका हुन् ।  राष्ट्रिय सभाका लागि मुसिकोटका बुद्धिप्रसाद गौतमलाई सिफारिस गरिएको नेकपा रुकुम पश्चिमले जनाएको छ ।

उहाँ पनि साबिक माओवादी नेता हुनुहुन्छ । राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदै छ ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update