रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा ९ र चौरजहारी १४ का कोरोना संक्रमितहरुको स्वास्थ्य जाँच गरिएको छ । जिल्ला अस्पतालका डा. राजकुमार भुजेल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले गाउँ तथा घरमै गएर हिजो र आज कोरोना संक्रमितहरुको जाँच र औषधि वितरण गरेको छ । त्यस्तै संक्रमितहरुलाई परामर्श पनि गरिएको छ ।
![](https://www.kakhara.com/uploads/editor/Test%201.jpg)
जेठ २५ गते ६६ जनामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको र त्यो भन्दा अगाडि गाउँमा २१ जना गरी कुल ४२ जना संक्रमित रहेको अवस्थामा चौतारा युवा क्लवको व्यवस्थापन, स्वास्थ्य सेवा कार्यालयको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा गाउँ तथा घर घरै पुगेर कोरोना संक्रमितको जाँच गरिएको हो । अधिकांश संक्रमितलाई चौतारा आधारभुत स्वास्थ्य इकाई जाँच गरिएको थियो भने केहिलाई नालेचौर र केहिलाई सेतिपोखरामा बोलाएर जाँच गरिएको थियो । केहि संक्रमितको भने घर घरै पनि पुगिएको छ ।
![](https://www.kakhara.com/uploads/editor/test%202.jpg)
जसक्रममा ४३ जना संक्रमितको स्वास्थ्य जाँच भएको गाउँपालिका कोभिड–१९ फोकल पर्शन बिरबहादुर डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार डा. भेजेलले प्रत्यक संक्रमितको स्वास्थ्य जाँच गर्दै त्यसका आधारमा औषधि र स्वास्थ्य परामर्श दिनुभएको थियो ।
![](https://www.kakhara.com/uploads/editor/Test%205.jpg)
स्वास्थ्य जाँचको क्रममा ४ जना संक्रमितको अक्सिजनको मात्रा सामान्य भन्दा कम भएपछि १ जनालाई जिल्ला अस्पताल सल्ले र ३ जनालाई पालिका अस्पताल खारानेटामा पठाईएको डाँगीले बताउनुभयो । स्वास्थ्य जाँच गरिएका संक्रमितमध्य अधिकांश त्रिवेणि गाउँपालिका वडा नं. ९ का रहेका छन् भने केहि संक्रमित चौरजहारी नगरपालिका वडा नं. १४ का रहेको बताईएको छ ।
![](https://www.kakhara.com/uploads/editor/Test%203.jpg)
स्वास्थ्य जाँच गरिएका अधिकांश संक्रमितको स्वास्थ्य अवस्था सामान्य पाईएको जिल्ला अस्पतालका डा. भुजेलले बताउनुभयो । ‘केहि बाहेका अन्य सबै संक्रमितको अवस्था सामान्य रहेको पाईयो, घरमै स्वास्थ्य लाभ गरिरहनुभएका संक्रमितहरुको स्वास्थ्य जाँच गरेर अवस्था हेरेर थप औषधि दिएका छौं, उहाँले भन्नुभयो–स्वास्थ्य परामर्श पनि दियौं, अक्सिजनको मात्रा कम भएका र अन्य केहि समस्या भएका संक्रमितलाई भने जिल्ला अस्पताल र पालिका अस्पतालमा पठाएका छौं ।’
![](https://www.kakhara.com/uploads/editor/Test%206.jpg)
संक्रमितहरुको अवस्था हेर्दा चिन्ता गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाई छ । तर स्वास्थ्य सुरक्षाका मापदण्डहरुको भने पूर्ण पालना गर्न भनिएको उहाँले बताउनुभयो ।
![](https://www.kakhara.com/uploads/editor/Test%204.jpg)
गाउँमा एकै पटक ठुलो संख्यामा संक्रमितहरु फेला परेपछि संक्रमणलाई थप फैलिन नदिन र संक्रमितहरुको अवस्थाबारे जानकारी लिन डाक्टर सहितको स्वास्थ्यकर्मीएको टोलीलाई गाउँमा ल्याएको चौतारा युवा क्लवका अध्यक्ष मोहन चन्दले बताउनुभयो ।
![](https://www.kakhara.com/uploads/editor/Test%208.jpg)
अन्यत्र संक्रमित घटिरहेको अवस्थामा वडा नं. ९ को चौतारा, नालेचौर सहित छिमेकी चौरजहारी नगरपालिका १४ को नाउलीमा संक्रमण फैलिएपछि सतर्कता अपनाईएको उहाँले बताउनुभयो । ठुलो संख्यामा संक्रमितहरु देखा परेपछि डाक्टर सहितको टोली ल्याएर स्वास्थ्य जाँच, औषधि वितरण र स्वास्थ्य परामर्शको व्यवस्था गरिएको उहाँले बताउनुभयो । क्लबले पनि जनचेतना फैलाउने काम गरिरहेको उहाँको भनाई छ ।