नेपाल कम्युनिस्ट पार्टी(नेकपा) रुकुम पश्चिमले भोली खलङ्गा बजारमा मोटरसाइकल र्याली गर्ने भएको छ । यही पुस २६ गते मुसिकोट नगरपालिका १ बराहटाकुरामा हुने नेकपाको एकता सन्देश सभालाई लक्षित गर्दै भोली नेकपा रुकुम पश्चिमले मोटरसाइकल र्याली गर्ने भएको हो । नेकपाको एकता सन्देश सभाको विषयमा जानकारी बनाउन आज प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनले संयुक्त रूपमा सहिद प्रतिष्ठानको सभा हल सेरिगाउँमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो ।
भोली दिउँसो १२ बजे मुसिकोट नगरपालिका ३ माछमीबाट, सेरिगाउँ, सितपोखरी, पुनः सेरिगाउँ, बागबजार हुँदै सल्लेसम्म मोटरसाइकल र्याली गर्ने नेकपाका नेता वसन्तकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पुस २६ गते हुने नेकपाको एकता सन्देश सभालाई लक्षित गरी उक्त कार्यक्रम गर्न लागिएको हो । त्यस्तै २५ गते मञ्च व्यवस्थापन गर्ने र २६ गते मुसिकोट १ बराहटाकुरामा हुने एकता सन्देश सभा कार्यक्रमलाई भव्य बनाउने गरी तयारी गरिरहेको उहाँको भनाइ छ ।
२६ गते शनिवार हुने एकता सन्देश सभालाई सम्बोधन गर्न नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल लगायतका नेता आउने कार्यक्रम रहेको छ । यसैबिच नेकपा रुकुम पश्चिमले एकता सन्देश सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । प्रचार प्रसार, पालिकाहरूसँग समन्वय लगायतका काम अन्तिम चरणमा पुगेको पार्टीले जानकारी गराएको छ ।
एकता सभामा १० हजार बढी मानिस उतार्ने नेकपाका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । सभा अहिलेसम्मकै भव्य हुने उहाँको भनाइ छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि जिल्लामा पहिलो पटक यति ठुलो कार्यक्रम हुन लागेको हो । जनार्दन शर्मा प्रभाकरको गृह जिल्लामा हुन लागेको नेकपाको एकता सन्देश सभालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
एकतामा सहभागी नहुने भन्दै माओवादी केन्द्रका तत्कालीन उप महासचिव तथा प्रभावशाली नेता शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएको अवस्थामा उहाँको उपस्थिति बिना प्रचण्ड पहिलो पटक रुकुम पश्चिम आउँदै हुनुहुन्छ ।
माओवादीको बलियो पकड रहेको रुकुम पश्चिममा यसअघि माओवादीले भव्य सभा सम्मेलन गर्ने गरेको थियो । सोही विरासतलाई कायम राख्ने गरी यो पटकको सभा हुने नेकपा रुकुम पश्चिमका नेताहरूको भनाई छ । जनार्दन शर्माले अर्को पार्टी निर्माण गरे पनि रुकुम पश्चिममा कुनै असर नपरेको बताइरहेका नेताहरू यो सभाबाट त्यसलाई केही हदसम्म पुष्टि गर्ने योजनामा देखिएका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपा नेता शर्मा, गोपाल शर्मा अनल, गोविन्द रोका सचिन, सुरज परियार, देवीलाल गौतम लगायतका नेताहरूको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस सेन्टरका जिल्ला संयोजक प्रचण्ड खत्रीले गर्नुभएको थियो ।





-1759842583.jpg)
