Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रतिनिधि सभाका लागि रुकुम पश्चिमबाट जनार्दन शर्मा एकल सिफारिस 

प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा रुकुम पश्चिमले जिल्लाबाट जनार्दन शर्मा प्रभाकरलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एकल सिफारिस गरेको छ । पार्टीका संरक्षक समेत रहनुभएका शर्मालाई पार्टीले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो । यो सँगै जनार्दन शर्मा आगामी निर्वाचन लड्ने वा नलड्ने भन्ने अन्यौलता हटेको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दल बिचमा भएको एकतामा सहभागी नभई प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माणमा जुट्नुभएका शर्मा रुकुम पश्चिमबाट चुनाव लड्नु हुन्छ वा हुँदैन भन्ने अन्यौलता थियो । पार्टीले हालसम्म पनि कसैलाई सिफारिस नगरेको अवस्थामा त्यो अन्यौलता झनै बढेको थियो ।

तर आज पार्टी कार्यालय मुसिकोट खलङ्गामा बसेको पार्टीको बैठकले शर्मालाई प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेको हो । सर्वसम्मत रूपमा उहाँलाई एकल सिफारिस गरिएको प्रलोपाका जिल्ला इन्चार्ज गोरखबहादुर केसी सन्देशले जानकारी दिनुभयो ।

अब जिल्लाको निर्वाचन रोचक हुने देखिएको छ । तत्कालीन नेकपा माओवादी केन्द्रबाट २०६४ सालदेखि लगातार चुनाव जितिरहनुभएका शर्मा आगामी निर्वाचनमा भने फरक पार्टी र फरक चुनाव चिन्हबाट चुनाव लड्नुहुने भएको छ । नेपाली कम्युनिस्ट पार्टीले पनि यस अघि नै एकल रूपमा गोपाल शर्मा अनललाई सिफारिस गरिसकेको छ ।

बर्षाैँ एउटै पार्टीमा रहनुभएका प्रभाकर र अनल बिचको प्रतिस्पर्धाले निर्वाचनलाई थप रोचक बनाउने भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दलले पनि सिफारिस गरिसकेका छन् । काँग्रेसले पुराना नेता गोपालजिजंग शाह र जिल्ला सभापति प्रेमप्रकाश ओलीलाई सिफारिस गरेको छ भने नेकपा एमालेले जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई सिफारिस गरेको छ । नेकपा माओवादीले चन्द्र सी लाई सिफारिस गरेको छ । 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update