नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा मोटरसाइकल र्याली निकालेको छ । २६ गते हुन लागेको जिल्ला एकता सन्देश सभाको पूर्व सन्ध्यामा आज मुसिकोटमा मोटरसाइकल र्याली निकालिएको हो ।
मुसिकोट नगरपालिका वडा नम्बर ३ को माछिमीबाट सुरु भएको र्याली वडा नम्बर ५ को शेरिगाउँ, वडा नम्बर १ को खलङ्गा, सल्ले पुगेर पुनः खलङ्गा हुँदै शेरिगाउँस्थित सहिद प्रतिष्ठानमा पुगेर सम्पन्न भएको थियो । सहिद प्रतिष्ठानको बाहिर पट्टी कोण सभा गर्दै र्याली सम्पन्न भएको नेकपा साबिक माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
उहाँका अनुसार ४ सय मोटरसाइकल र्यालीमा सहभागी भएका थिए । कोणसभालाई सम्बोधन गर्दै आगामी निर्वाचनका लागि पार्टीको तर्फबाट एकल सिफारिसमा पर्नुभएका गोपाल शर्मा अनलले दिउँसोको सङ्केत बिहानीले गरेजस्तै रुकुम पश्चिममा नेकपाको जितको सङ्केत आजको कार्यक्रमले गरेको बताउनुभयो ।
‘केही केही मान्छेहरूले हामी कता छौँ, के छौँ भनेर खोजिरहेका छन्, हामी यही छौँ, कतै गएका छैनौ, एक जुट छौँ भन्ने प्रमाण आजको कार्यक्रम हो’ उहाँले भन्नुभयो । हामी रुकुममा कस्तो छौँ र आगामी निर्वाचनमा रुकुममा नेकपाको उपस्थिति कस्तो हुन्छ भन्ने प्रमाण आजको र्याली रहेको उहाँले बताउनुभयो ।
साथै उहाँले रुकुमको खास शक्ति कस्तो छ भनेर पर्सी २६ गतेको कार्यक्रमबाट देखाउने उहाँले दाबी गर्नुभयो । त्यस्तै उहाँले केही व्यक्तिहरूले आफूहरूलाई च्यालेन्ज गरिरहेको र उक्त च्यालेन्जलाई आफूहरूले पूरा गर्दै गएको समेत उहाँले बताउनुभएको थियो ।
पर्सी पुस २६ गते नेकपाले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा जिल्ला एकता सन्देश सभा गर्दै छ । उक्त सभालाई पार्टी केन्द्रले समेत विशेष महत्त्व दिएको छ । सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधवकुमार नेपाल लगायतका नेता आउँदै छन् ।
जनार्दन शर्मा प्रभाकरले फरक पार्टी निर्माण गरेपछि नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका दल मिलेर बनेको नेकपाले रुकुम पश्चिमको विरासत जोगाउने गरी केन्द्रबाटै विशेष महत्त्व दिएको देखिन्छ ।
एकता सन्देश सभामा १० हजार बढी मानिस उतार्ने नेकपा नेकपा रुकुम पश्चिमले जनाएको छ । नेपाली कम्युनिस्ट पार्टी बनेपछि जिल्लामा पहिलो पटक यति ठुलो कार्यक्रम हुन लागेको हो । जनार्दनको गृह जिल्लामा हुन लागेको नेकपाको एकता सन्देश सभालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
माओवादीको बलियो पकड रहेको रुकुम पश्चिममा यसअघि माओवादीले भव्य सभा सम्मेलन गर्ने गरेको थियो । सोही विरासतलाई कायम राख्ने गरी यो पटकको सभा हुने नेकपा रुकुम पश्चिमका नेताहरूको भनाई छ । जनार्दन शर्माले अर्को पार्टी निर्माण गरे पनि रुकुम पश्चिममा कुनै असर नपरेको बताइरहेका नेताहरू यो सभाबाट त्यसलाई केही हदसम्म पुष्टि गर्ने योजनामा देखिएका छन् ।






-1759842583.jpg)
