Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वबाट आगामी प्रतिनिधि सभा सदस्य चुनाव लड्ने प्रचण्डको घोषणा

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य चुनाव लड्ने घोषणा गर्नुभएको छ । आज नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमको एकता सन्देश सभालाई मुसिकोटमा सम्बोधन गर्दै प्रचण्डले आगामी चुनाव रुकुम पूर्वबाट लड्ने निश्चित जस्तै भएको बताउनुभयो । 

आफू रुकुम पूर्वबाट चुनाव लडेपछि रुकुम पश्चिमले समेत विकासमा गति लिने उहाँले बताउनुभयो । उहाँले रुकुमका लागि पार्टी हेडक्वार्टर ढोका सधैँ खुला रहने समेत बताउनुभयो । 

‘केही नेताले पार्टी र कम्युनिस्ट विचार छाडेपछि अब जिल्लाको पहुँच केन्द्रमा हुने होइन की भन्ने केहीलाई लागेको पाएँ, तपाइहरू ढुक्क हुनुहोस् अब रुकुमको पहुँच हेडक्वार्टर पहिला भन्दा अझ बढी हुने छ, अब म रुकुम एक पटक होइन पटक पटक आइरहने छु, म आगामी चुनाव लड्न रुकुम पूर्व आउने निश्चित जस्तै भएको छ, त्यसबाट रुकुम पश्चिमले समेत विकासमा फड्को मार्ने छ,’ उहाँले भन्नुभयो ।

आफू पूर्वी रुकुम आउनु भनेको पश्चिम रुकुम आए सरह हुने उहाँको भनाई थियो । अब सिङ्गो रुकुमको विकास निर्माणलाई नयाँ शिराबाट, यहाँका जनताका सुख दुःखलाई मध्यनजर गरेर अगाडी बढाइने समेत उहाँले आश्वासन दिनुभयो । 

साथै उहाँले तत्कालीन माओवादी केन्द्रका उपमहासचिव तथा प्रभावशाली नेता जनार्दन शर्मालाई भगौडाको संज्ञा दिनुभयो । ‘रुकुममा आजसम्म तपाइहरूले जसलाई विश्वास गर्नुभयो, जसलाई नेता बनाउनुभयो, उनैले आज पार्टी मात्र छाडेका छैनन्, कम्युनिस्ट विचार समेत त्यागेका छन्, उनी साम्राज्यवादीको चंगुलमा फसेका छन्, उहाँले भन्नुभयो–तपाइहरू भगौडाको पछि लाग्नुभएन त्यसका लागि धन्यवाद ।’ 

साथै उहाँले आफू यसअघि रुकुम आउँदा भन्दा यस पटकको सभा भव्य भएको उहाँको भनाई थियो । रुकुम कुनै व्यक्ति विशेषको पछि नभई सधैँ क्रान्तिका पक्षमा रहेको अहिले आएर पुनः एक पटक पुष्टि भएको पनि उहाँले बताउनुभयो । उहाँले रुकुम पश्चिममा गोपाल शर्माको जित सुनिश्चित भइसकेको समेत दाबी गर्नुभयो । 

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update