Kakhara सबैको खबर सम्पूर्ण खबर
आफूसँग चुनाव लड्न प्रभाकरलाई अनलको चुनौती 

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा आगामी प्रतिनिधि सभा सदस्यका लागि पार्टी जिल्लाबाट एकल सिफारिसमा पर्नुभएका गोपाल शर्मा अनलले आफूसँग चुनाव लडेर देखाउन जनार्दन शर्मालाई चुनौती दिनुभएको छ । मुसिकोटमा आयोजित पार्टी जिल्लाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा आफूसँग लडेर देखाउन उहाँले चुनौती दिनुभएको हो ।  

‘आउनुहोस् यो प्रतिस्पर्धाको खुला मैदानमा म तपाइलाई माला लगाएर स्वागत गर्छु, तर मेरो च्यालेन्सको माला लगाउन तपाइ तयार हुनुहुन्छ कि हुनुहुन्न ?, मलाई विश्वास छ यहाँले त्यस्तो गर्नुहुन्न, मलाई सहयोग गर्नुहुन्छ,’ उहाँले भन्नुभयो । 

‘कतिपयले जनार्दनले मत काट्छ कि भन्छन्, तर म भन्छु काट्दैनन्, उहाँले थप्नुभयो, किन भने मैले उहाँलाई हालसम्म चुनाव जिताउन कमान्डर भएर काम गरेको छु, मेरो श्रीमती बर्दियाबाट चुनाव लड्दा पनि म प्रभाकरलाई चुनाव जिताउन लागे, यदि म गएको भए मेरो श्रीमतीले जित्ने अवस्था हुन्थ्यो, यति धेरै सहयोग गरेको उहाँलाई पनि थाहा छ, उहाँले मेरो मत काट्नु हुन्न, बरु थपिन्छ ।’

प्रभाकरले अहिले पुस्तान्तरणको मुद्दा उठाइरहेको भन्दै नेता शर्माले आफू नयाँ पुस्ताको प्रतिनिधि भएको भन्दै आफूलाई सहयोग गर्न समेत अपिल गर्नुभयो । ‘प्रभाकर कमरेडले खुब पुस्तान्तरणको कुरा उठाइरहनुभएको छ, तपाइले भने अनुसारको पात्र म हो, आउनुहोस् मलाई सहयोग गर्नुहोस्,’ नेता शर्माले भन्नुभयो । 

साथै उहाँले प्रभाकरलाई गल्ती स्वीकार गरेर घर फर्किन आग्रह गर्नुभयो । त्यस्तै उहाँले रुकुममा नेपाली कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन सकिन्छ कि भनेर हिजो प्रभाकरलाई ढुङ्गा प्रहार गर्ने काँग्रेसहरूले नै अहिले प्रभाकरको प्रचार गरिरहेको उहाँले आरोप समेत लगाउनुभयो । 

रुकुमका जनता टुटफुटको पक्षमा नरहेको बताउँदै उहाँले आजको विशाल सभाले आफ्नो जित सुनिश्चित भइसकेको समेत दाबी गर्नुभयो । सभालाई अन्य नेताहरूले पनि सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update