Kakhara सबैको खबर सम्पूर्ण खबर
माघे संक्रान्ति: वर्तमान र विगतकाे सम्झना

सानो छँदा “पाइयो–पाइयो” खेल्दै कद्दु, तरुल, फुला परेको महले मोसेको, भुटेको–जुनेलोको मकै, फापरको फुलौरा घर–घर माग्दै खाँदै हिँडेको अहिले पनि याद आउँछ ।

जिन्दगी सिद्धिन कति बेर लाग्दो रहेछ ! ती दिन बितेको अस्ति जस्तो लागे पनि आजभन्दा करिब ४० वर्ष अगाडिका ती पलहरू सम्झनाका तरङ्गमा तैरिरहेका छन् । धेरै आफन्तजन, साथीभाइ र नेतृत्वहरू स्वर्गवास भइसकेका छन् ।

सानो छँदा विद्यालयमा एक महिनाको हिउँदे बिदा हुन्थ्यो। घरमा पेट भर्ने अन्न उत्पादन गर्न, घिउ–तेल, सागसब्जी, मासु र मलको जोहो गर्न गाई–भैँसी, बाख्रा, चल्ला पाल्नै पर्ने बाध्यता थियो ।

यसकै लागि यो महिनामा घाँस–पात र दाउरा गर्नुपर्थ्यो। हामी निकै टाढा–टाढासम्म घाँस–दाउरा गर्न जान्थ्यौँ। बिहान ४ बजे हतार–हतार रोटी र गुन्द्रुकको तरकारी खाएर, एक–दुई वटा रोटी र ढिके नुनको डल्ला बोकेर, जङ्गलतिर लाग्थ्यौँ। कुटेर खाने पानी पाइने ठाउँमा खाएर, हँसिया–बरियो बोकी ४–६ घण्टा पैदल हिँडेर घना जङ्गल पुगिन्थ्यो। त्यहाँ ३–४ घण्टा दाउरा–घाँस जम्मा गरेर फेरि ५–६ घण्टा आफैँले बनाएको भारी ढाडमा बोकेर, मुन्टो अररिने गरी घर फर्किन्थ्यौँ ।

मुन्टो बाङ्गिएकै अवस्थामा खाना खाएर, कोल्टो फेर्नसमेत गाह्रो हुने गरी सुतेर, भोलिपल्ट बिहान फेरि रोटी पोलेर वा बासी रोटी खाएर उही दिनचर्यामा लागिन्थ्यो। ती दिन आज पनि मनमा ताजै छन्।
फाँच मेलामा हप्तौँ बास बसेर दाउरा बनाएको, नदिगारमा भारी बोकेर “राम–राम” गर्दै खोला तरेको, वाबाङबाट दाउरा बोकेको, टल्कनेको घुर्रो बोकेर आलपोखरा ल्याएर बिताएका पल—जिन्दगीका ती क्षण बाध्यताका साथसाथै रमाइला पनि थिए ।

यसरी महिनौँ दाउरा–घाँस गर्दै जाँदा बिदा सकिने बेला माघ १ गते आउँथ्यो—पाइयो खेल्ने, तरुल खाने, गन्जी खाने, फर्सी–माटे मागेर खाने दिन। गन्जी किन्न पोखरा रातामाटासम्म जानुपर्थ्यो। तरुल घर–तरुल र बन–तरुल हुन्थ्यो ।

म तरुल खन्न निकै खप्पिस थिएँ। त्यसैले सिलाबगर, फाँचमेला, जिउनीखाल, ज्यामिरकोट, देउखोला तिर मैले खनेका गहिरा खाल्डा आज दुम्सी र जङ्गली जनावरका लुक्ने खोर बनेका होलान्। सिधा–साधा जनावर ती खाल्डामा खसेर तड्पिँदै प्राण त्यागेका होलान् भन्ने सोच्दा आज पनि मन भारी हुन्छ। माइतीघरमा तरुल किन्न प्रायः परेन । पस्रि बारीमा वालछेल हुन्थ्यो ।

माघे सङ्क्रान्तीकै दिन तरुल खनेर ल्याई अरू परिकारसँग मिसाएर अरूलाई खुवाइन्थ्यो, आफैँ पनि खाइन्थ्यो। परिवार, साथीभाइ मिलेर रमाइलो गरिन्थ्यो। पुस सकिएपछि जाडो कम हुन्थ्यो र माघदेखि विद्यालय खुल्थ्यो। लामो बिदापछि स्कुले साथीहरूको याद आउँथ्यो र फेरि पढाइ सुरु हुन्थ्यो।
जिन्दगी अचम्मकै गतिमा बित्दो रहेछ । अहिले म विशेष परिस्थितिका कारण लामो समयदेखि काठमाडौँमा छु। यतै बिहे भयो, यतै परिवार बन्यो। तर जन्मभूमिको ऋण कसरी तिर्न सकिन्छ भनेर बाटो खोज्दै छु ।

शिक्षा, राजनीति र आफूले सक्ने क्षेत्रबाट समाजसेवा गर्दै मेला पर्वको संरक्षणमा लागिरहेको छु। स्थानीय बुद्धिजीवी, साथीभाइ र आफन्तको सहयोगमा कोरोना कालमै रोकिएको पाचपुर्णिमा मेला पुनः सञ्चालन गर्दै आएका छौँ । शिक्षामा केही योगदान गर्न सकिन्छ कि भनेर निजी क्षेत्रबाट लगानी गरी गाउँमै रुकुमकोट जन्म स्थानमै कक्षा १० सम्मको सेकेन्डरी बोर्डिङ स्कुल सञ्चालन गरिएको छ।साहित्य अनुरागीका लागि मेरै पहलमा राप्ती साहित्य परिषद् गठन भएर साथीहरूको ऐक्यबद्धता अगाडि बढिरहेको छ । मेरै अध्यक्षतामा रुक्मिणी भूतपूर्व विद्यार्थी समाजले पनि गठन भएर केही गर्ने सपना योजना बनाइरहेका छौँ । विभिन्न क्लब, संघ–संस्थामार्फत सकेको सहयोग जुटाउने पहल गरिरहेका छौँ ।

सबै कुराको निर्धारण राजनीतिले गर्छ भन्ने बुझे पनि राजनीतिलाई पेसा, व्यवसाय वा परिवार पाल्ने साधन बनाउनु हुँदैन भन्ने मेरो सुरुदेखिको मान्यता हो । त्यसैले पेसा र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएको छु । सबैको माया र साथले अवस्था क्रमशः राम्रो हुँदै गएको छ ।

राजनीतिक यात्रामा अनेरास्ववियु, छैटौँ मोटो मशाल, वाइसियल, जनमोर्चा, माओवादी केन्द्र, वैद्य माओवादी, ड्यास माओवादी (विद्रोही)को महासचिव  हुँदै पुनः माओवादी केन्द्र, त्यसपछि नेकपा र नेकपा विभाजन पछि मामा बादल सङ्ग एमालेमा रहेर हाल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य सम्म आइपुग्दा धेरै उतार–चढाव देखेँ । २०७९ को संघीय निर्वाचनमा रुकुम पूर्वबाट देशकै ठुलो तर रुकुम पूर्वमा तेस्रो तर माओवादीको तुलनामा एक तिहाइ पनि नभएको पार्टी एमाले बाट तत्कालीन जिल्लाकै सबै भन्दा ठुलो पार्टी माओवादी केन्द्र काङ्ग्रेस लगायतको ५ दलको विरुद्ध नेकपा एमाले बाट संघीय उम्मेदवार बनेर करिब ४०-४५ प्रतिशत मत प्राप्त गर्दै ऐतिहासिक प्रतिस्पर्धा गर्न सकेँ र निकै सानदार मत रुकुमेली बुबाआमा दाजुभाइ दिदीबहिनी शुभ चिन्तक साथीभाइ एमाले पार्टी नेता कार्यकर्ता साथै स्वतन्त्र समाजसेवी बुद्धिजीवीहरूले आफ्नो अमूल्य मत  दिँदै मलाई निकै हौसला दिनु मात्र भएन भविष्यमा सत्य र निष्ठा अनि भ्रष्टाचार रहित बाटो नबिराउन थप ऊर्जा दिनु भयो ।

आजको राजनीतिक परिवेशमा अबको स्थायित्वको मियो कामरेड प्रचण्ड नै हुन् भन्ने ठम्याइका साथ नेपाली कम्युनिस्ट पार्टीमा योगदान गर्ने निर्णयमा पुगेको छु ।

“हामीले नगरे कसले गर्ने?
अहिले
नगरे कहिले गर्ने?
यो ठाउँबाट नगरे कुन ठाउँबाट गर्ने?”
परिवर्तन हाम्रै पालामा सम्भव छ ।

यसै अवसरमा म आज माघे सङ्क्रान्तीकै दिन आमाबुबा, दाजुभाइ, दिदीबहिनी, आफन्त, शुभचिन्तक, अभिभावक, विद्यार्थी र साझेदार सबैमा माघे सङ्क्रान्तीको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सके राम्रो गरौँ, राम्रो गर्नेहरूसँग एकताबद्ध बनौँ। नसके पनि सकारात्मक बनौँ । बाँकी जीवन व्यक्ति, परिवार, समाज र राष्ट्रको समृद्धिका लागि समर्पित गरौँ ।

लेखक निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका केन्द्रीय सदस्य हुनुहुन्छ । 

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update