प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नगर कमिटी निर्माण गरेको छ । शुक्रवार भएको पार्टीको नगर स्तरीय विस्तारित बैठकले सुदास स्वर्णकारको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी निर्माण गरेको हो ।
साथै बैठकबाट १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ । प्रलोपाले चौरजहारीमा जिल्लाकै पहिलो पालिका कमिटी बनाएको हो । भर्खरै निर्माण भएको प्रलोपाले जिल्लामा वडा स्तरमा भने यसअघि बाटै सङ्गठन निर्माण गरिरहेको थियो । तर पालिकामा भने पहिलो पटक चौरजहारीमा कमिटी निर्माण गरेको प्रलोपाले जनाएको छ ।
जिल्लामा अभियानकै रूपमा सङ्गठन विस्तारको काम चलिरहेको भन्दै पार्टीले सबै वडा र सबै पालिकामा सङ्गठन विस्तार हुने प्रलोपा रुकुम पश्चिमका संयोजक शैलेशकुमार शर्माले जानकारी दिनुभयो । आसन्न निर्वाचन समेतलाई लक्षित गरेर सङ्गठन विस्तारलाई विशेष महत्वका साथ अगाडी बढाइएको उहाँको भनाई छ ।
पार्टी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज राजकुमार शर्माको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो । उक्त बैठकलाई प्रलोपाका संरक्षक जनार्दन शर्मा प्रभाकरले फोन मार्फत र इन्चार्ज राजकुमार शर्माले प्रशिक्षण सहितको मन्तव्य राख्नुभएको थियो ।
बैठकमा केन्द्रीय जिल्ला संयोजक शैलेशकुमार शर्मा र युवा नेता एलबी कटुवाल लगायतका नेताहरूको उपस्थिति रहेको बताइएको छ । जनार्दन शर्माको नेतृत्वमा स्थापना भएको प्रलोपा रुकुम पश्चिममा आफ्नो शक्ति मजबुत बनाउने गरी लागि परेको छ ।





-1759842583.jpg)