नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न रुकुम पूर्व पुग्नुभएको छ । उहाँ रुकुम पश्चिम हुँदै रुकुम पूर्व जानुभएको हो । तारा एयरको चार्टर्ड विमान मार्फत उहाँ रुकुम पश्चिमको सल्ले विमानस्थल पुग्नुभएको थियो । विमानस्थलमा रुकुम पश्चिम र पूर्वका नेता कार्यकर्ताहरूले स्वागत गर्दै सहिद प्रतिष्ठानको सभा हल मुसिकोट ५ को शेरिगाउँ पुर्याएका थिए ।
त्यहाँ उहाँले रुकुम पश्चिमबाट निर्वाचन लड्नका लागि गोपाल शर्मा अनललाई टिकट प्रदान गर्नुभयो । त्यसपछि उहाँले उपस्थित नेता तथा कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गर्नुभएको थियो । त्यसपछि उहाँ स्थल मार्ग हुँदै रुकुम पूर्व तर्फ लाग्नुभएको थियो ।
प्रचण्डले पुस २६ गते रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा भएको नेकपा रुकुम पश्चिमको एकता सन्देश सभालाई सम्बोधन गर्दै आफूले रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गर्नुभएको थियो । त्यसअघिबाटै प्रचण्ड रुकुम पूर्वमा चुनाव लड्न आउने चर्चा भए पनि पुस २६ गते प्रचण्डले नै आफू रुकुम पूर्व आउने निश्चित जस्तै रहेको बताएपछि प्रचण्ड रुकुम पूर्वबाट नै चुनाव लड्ने निश्चित जस्तै भएको थियो ।
अन्ततः उहाँ आज मनोनयन दर्ताका लागि रुकुम पूर्व पुग्नुभएको हो । निर्वाचन कार्य तालिका अनुसार भोली मनोनयन दर्ताको समय रहेको छ ।




-1759842583.jpg)