Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा आउँदो चुनावबाट पहिलो दल बन्ने सबैकाे विश्लेषण छ: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट ठुलो दल बन्ने दाबी गर्नुभएको छ । आगामी निर्वाचनका लागि मनोनयन दर्ता गर्न रुकुम पूर्व जाने क्रममा रुकुम पश्चिममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

‘हालको भन्दा त हाम्रो पार्टी अवश्य ठुलो हुन्छ, हाम्रो समानुपातिक मत पनि बढ्छ, बाहिर विश्लेषण के भइरहेको छ भने अबको निर्वाचनबाट नेकपा पहिलो दल बन्छ,’ उहाँले भन्नुभयो । यसअघि अवसर पाएकाहरूलाई यस पटक पार्टीले समानुपातिकमा नउठाएकोले समानुपातिक मत बढ्ने र प्रत्यक्ष तर्फ पनि राम्रो माहौल रहेको उहाँले बताउनुभयो । 

साथै उहाँले अहिले सामाजिक सञ्जालमा हल्ला भएजस्तो निर्वाचन परिणाम नआउने पनि दाबी गर्नुभयो । ‘सामाजिक सञ्जालमा अहिले खुबै हल्लाखल्ला पनि देखिन्छ, निर्वाचनमा त्यस्तो हुँदैन, हामी पहिलो दल बनेर सरकार निर्माण गर्ने गरी आउँछौँ, बाहिरको विश्लेषण र बुझाई पनि त्यस्तै छ,’ उहाँले भन्नुभयो ।

त्यस्तै प्रचण्डले रुकुम पश्चिममा जित निश्चित रहेको समेत दाबी गर्नुभएको छ । जनार्दन शर्मा विचलित भएपछि केही चुनौती भए पनि जिल्लामा गोपाल शर्माको जित भने निश्चित रहेको उहाँको दाबी थियो । मेहनतका साथ चुनावी तयारीमा चुट्न उहाँले नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update