प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले आफूलाई जित र हारको चिन्ता नभएको बताउनुभएको छ । पार्टीका तर्फबाट रुकुम पश्चिममा उम्मेदवारी दर्ता पछि पत्रकारलाई प्रतिक्रिया दिँदै उहाँले जनता आफ्नो साथमा रहेको र आफूलाई जित र हारको चिन्ता नरहेको बताउनुभयो ।
नेता शर्माले यो आफ्नो अन्तिम चुनाव भएको पनि घोषणा गर्नुभएको छ । ‘मलाई २०६४ देखि नै रुकुमका जनताले औधी माया गरेर जिताउँदै आउनुभएको छ, अहिले फेरिएको अवस्थामा मेरो आवश्यकता रहेकोले उम्मेदवारी दिन गइरहेको छु, मैले रुकुमको विकासलाई पूर्णता दिनु छ, यो मेरो अन्तिम उम्मेदवारी हो, यसपछि म चुनाव लड्दैन,’ उहाँले भन्नुभयो ।
उहाँले रुकुममा आफ्नो नेतृत्वमा धेरै नै काम भएको बताउँदै अझै केही विकास अधुरै रहेकोले त्यसको पूर्णताका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, सांस्कृतिक उत्थान, सामाजिक न्याय देखि समग्र पूर्वाधारका क्षेत्रमा धेरै नै काम भएको र अब त्यसलाई नयाँ शिराबाट अगाडी बढाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।
उहाँले रुकुम विकासको नयाँ मोडल आफूसँग रहेको र सोही अनुसार अब काम हुने उहाँको भनाई छ । यही आवश्यकतालाई मध्यनजर गरेर आफूले नयाँ पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरेको समेत उहाँले बताउनुभयो ।
यसैबिच उहाँले आफू आन्दोलनबाट विचलित नभएको बताउनुभएको छ । प्रचण्डप्रति लक्षित गर्दै उहाँले भन्नुभयो–‘मलाई विचलित भयो भन्नेहरू आज मैले बनाइदिएको रुकुम पूर्वमा आएर चुनाव लड्दै छन्, निर्वाचन क्षेत्र चहार्दै हिँड्नेहरू पो विचलित भएका हुन्, म त मेरै क्षेत्रमा छु, म विचलित भएको छैन ।’ साथै उहाँले प्रचण्डलाई टुरिस्ट उम्मेदवारको संज्ञा समेत दिनुभयो ।




1686475760.jpg)

-1759842583.jpg)