Kakhara सबैको खबर सम्पूर्ण खबर
माधव-झालनाथ पक्षको पार्टीले मलाई स्पष्टीकरण सोध्न पाउँदैन, यो संविधान विपरीत हाे: शर्मा

कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व मुख्यमन्त्री राजकुमार शर्माले नेपाली कम्युनिस्ट पार्टीले आफूलाई स्पष्टीकरण सोध्न नपाउने बताउनुभएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधवकुमार नेपालले शर्मालाई पार्टी हित विपरीत लागेको भन्दै आज स्पष्टीकरण सोध्नुभएको छ ।

त्यसबारेमा कखराले उहाँको धारणा लिन खोज्दा प्रतिक्रिया दिँदै शर्माले विघटन भइसकेको पार्टीलाई आफूलाई प्रश्न सोध्ने कानुनी र नैतिक अधिकार नभएको बताउनुभयो ।

`आज नेपालमा कानुनी रूपमा नेकपा माओवादी केन्द्र नामक पार्टी छैन । यो पार्टी जेन जी आन्दोलनपछि विघटन भइसकेको छ र निर्वाचन आयोगले सो चुनाव चिन्ह १ वर्षका लागि फ्रिज गरेको छ । माधव-झालनाथ पक्षको पार्टीसँग मलाई प्रश्न सोध्ने कुनै कानुनी वा नैतिक आधार छैन,´ उहाँले भन्नुभयो ।

आफू नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह ‘गोलाकार भित्रको हँसिया-हतौडा’ बाट चुनाव लडेकोले अहिलेको नेकपाले आफूलाई स्पष्टीकरण सोध्न नपाउने उहाँको भनाई छ ।

साथै उहाँले जनप्रतिनिधिलाई बन्धनमा राख्न नपाइने बताउनुभयो । उहाँले भन्नुभयो-`राष्ट्रिय चुनाव घोषणा भइसकेको अवस्थामा कुनै नागरिकले आफ्नो मताधिकार र विचार व्यक्त गर्नु स्वाभाविक तथा जायज हो । जनप्रतिनिधिहरूलाई बन्धनमा राख्ने प्रयास संविधानको मर्म र चुनावी आचारसंहिता विपरीत छ ।´

प्रचण्ड र नेपालले आज शर्मालाई तपाईँलाई जिम्मेवारी अनुसार काम नगरेको र पार्टी हित विपरीत काम गरेको भन्दै कर्णाली प्रदेश संसदीय दलको सदस्य र पार्टी सदस्यबाटै किन निष्कासन नगर्ने भनेर २४ घण्टे स्पष्टीकरण सोध्नुभएको छ । स्पष्टीकरण नदिए कारबाही हुने चेतावनी दिइएको छ । 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update