Kakhara सबैको खबर सम्पूर्ण खबर
अबका हरेक शनिबार कमलदहको सफाई र संरक्षणका लागि
कमलदहकाे सफाई र स‌रक्षणमा जुटेकाहरु ।

जेठ ५ गते शनिबार विहान कमलदह वरीपरी केही युवाहरु जम्मा भए । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५, मा अवस्थित कमलदह परिसरमा आएका ति युवा तथा अरु सर्वसाधारण दह हेर्न, घुम्न वा समय विताउन मात्रै आएका होइनन् । र यो शनिबार कमलदह परिसरमा यसरी मान्छे जम्मा भएको पहिलो पटक होइन । यो सहित तीन शनिबार सर्वसाधारण विहानै कमलदह परिसरमा पुग्छन् ।

घरबाटै कुटो, कोदालो, हसिया, विभिन्न रुखका विरुवा तथा फूलका विरुवा बोकेर सर्वसाधारण कमलदह परिसर पुग्ने गरेका छन् । कमलदह पुगेर उनिहरु कमलदह छेउछाउको फोहोर त हटाउछन् नै कमलदहलाई हराभरा बनाउनका लागि पनि काम गरिरहेका छन् । सर्वसाधारणहरु स्वःतस्फूर्त कमलदहको संरक्षणमा लागेको उदाहरण हो यो । हरेक शनिबार विहान कमदहको संरक्षणका लागि काम गर्न आह्वान गरिन्छ ।

‘यसमा अनिवार्य छैन, स्वःतस्फूर्त आउनेहरुलाई स्वागत गरिन्छ र काम गरिँदै आइएको छ,’ यसका अभियान्ता मदन शाहले भन्नुभयो, ‘हाम्रो महत्वपूर्ण सम्पदा कमदलहको संरक्षणमा नजुटी भएन ।’ सकारात्मक सोच र सहकार्यका लागि युवा समूहको नामबाट कमलदह सफाई तथा संरक्षणको काम भइरहेको शाहले बताउनुभयो । यो शनिबार तेस्रो हप्ताको सरसफाई तथा विरुवा रोपन कार्यक्रम गरियो ।

गत जेठ २२ गते पहिलो र २९ गते दोस्रो पटक कमलदह सरसफाईको काम भइसकेको थियो । यो अभियानलाई निरन्तरता दिने योजनामा यो समूह छ । आगनमै रहेको पर्यटकीय क्षेत्रको संरक्षण, सम्बद्र्धनमा नागरिकको पनि दायित्व हुने भन्दै कमलदह हराभरा भइरहने गरी काम गर्न थालिएको छ । यो समूहले कमलदह परिसरमा भएको फोहोर हटाउँछ, भौतिक संरचनामा रहेको फोहोर हटाउँछ, विग्रेभत्केको मर्मत सम्भार गर्छ । विभिन्न प्रजातीका फूल रोप्ट भने विभिन्न प्रजातीका ठूला रुखका विरुवा पनि रोपेको छ ।

हाल सम्म झण्डै ८० बढी विरुपा रोपिएको र फूलका विरुवा पनि त्यतिकै संख्यामा रोपिएको शाहले बताउनुभयो । रुकुमकोटको मुख्य ठाउँ, मुल सडकसँगै रहेको कमलदहको संरक्षणका लागि अब हरेक शनिबार यसैगरी जुट्ने र सरसफाईको साथसाथै संरक्षणका कामकाज गर्ने गराउने योजना यूवा समूहको छ । यसमा फूल तथा ठूला रुखका विरुवा त्यसमा प्रयोग हुने मल, मास्क, पञ्जा लगायत सामग्रीको व्यवस्थापन शाह आफैले गरिरहनु भएको छ । ताल सरसफाईका लागि आउने अरु सबैले आफै फूल तथा रुखका विरुवा, कुटो,कोदालो र हसिया लिएर काममा जुट्ने गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update