Kakhara सबैको खबर सम्पूर्ण खबर
शैक्षिक सत्र सुरु भयो, पढाई कहिलेबाट सुरु हुन्छ ? 

कोरोना भाईरसको महामारी नहुन्थ्यो त यतिबेला शैक्षिक सत्र सुरु भएको दुई महिना पुरा भइसक्थ्यो । तर कोरोना भाइरसको महामारीका कारण गत शैक्षिक सत्र देखि भने शैक्षिक सत्रको नियमित तालिकामा धेरै परिवर्तन भएको छ । बैशाख १ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्र यो वर्ष भने २ महिना ढिला गरी असार १ गते देखि सुरु भएको छ । त्यो पनि बिद्यार्थीको अभिलेखिकरण राख्ने गरी मात्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम शैक्षिक सत्र सुरु भएको हो । तर पठन पाठन भने तत्कालै सुचारु हुने देखिदैन् । पढाई कहिलेबाट र कुन विधिबाट सुरु हुन्छ भन्ने निश्चित छैन् । तत्कालै बिद्यार्थीको भौतिक उपस्थितिमा पठन पाठन सम्भव नदेखिएको र अन्य कुनै विकल्प पनि प्रभावकारी हुनेमा स्थानीय तहहरु विश्वस्त देखिएका छैनन् । जसका कारण शैक्षिक सत्र सुरु भएपनि पठन पाठन भने तत्कालै सुरु हुने देखिन्न । 

संघीय सरकारको निर्देशन बमोजिम शैक्षिक सत्र सुरु गरिएको र हाललाई बिद्यार्थी भर्ना कार्यक्रम संचालन गर्न विद्यालयहरुलाई भनिएको सानीभेरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपालसिंह बिष्टले बताउनुभयो । गाउँपालिका भरमा रहेका बिद्यालयहरुलाई फोन तथा विभिन्न माध्यमबाट बिद्यार्थी भर्ना गर्न भनेको उहाँले बताउनुभयो । त्यस्तै यहिा विचमा पाठ्यपुस्तक पनि वितरण हुने उहाँको भनाई छ । पठाई कहिलेबाट र कसरी संचालन गर्ने भन्ने बारेमा निर्णय भइनसकेको उहाँले बताउनुभयो । 

कोरोना भाइरस महामारीका कारण अघिल्लो शैक्षिक सत्र पुरा हुन पाएको थिएन् । लगभग बैशाख दोस्रो सातासम्म विद्यालय संचालन भएका थिए । कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएपछि सबै विद्यालय बन्द भए र तोकिएका वार्षिक परीक्षा समेत संचालन हुन पाएनन् । परीक्षा संचालन गर्ने अवस्था नदेखिएपछि स्थानीय तहहरुले आन्तरिक मुल्यांकनलाई आधार बनाउने निर्णय गरिसकेका छन् । सोही अनुसार विद्यालयहरुले नतिजा तयार पारेर प्रकाशन समेत गरिसकेका छन् । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा पनि सोही अनुसार तयार भइरहेको छ । 

संघीय सरकारले असार १ गतेबाट शैक्षिक सत्र सुरु गर्न भनेपछि असार १५ गतेभित्र भर्ना कार्यक्रम चलाउन बिद्यालयहरुलाई भनेको र त्यसपछिको अवस्था के हुन्छ त्यसलाई हेरेर निर्णय हुने मुसीकोट नगरपालिकाका सूचना अधिकारी तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्काले बताउनुभयो । ‘कोरोना महामारीकै विचमा शैक्षिक सत्र सुरु भएको छ, सामान्य अवस्थामा पनि एक महिना जति भर्ना अभियान सुरु हुन्थ्यो, अहिले पनि असार महिना भरीमा भर्ना कार्यक्रम र पाठ्यपुस्कत वितरण हुने छ, उहाँले भन्नुभयो ।’ संघबाट के निर्णय आउँछ त्यसका आधारमा थप निर्णय हुने उहाँले बताउनुभयो । अहिले नै पठन पाठन सुरु हुने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । 

शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिम पनि तत्कालै विद्यार्थीको उपस्थितमा पठन पाठन सुरु गर्ने अवस्था नदेखिएको बताउँछ । अहिले तत्काललाई भर्ना अभियान र पाठ्यपूस्तक वितरणको काम हुने र कसरी पठन पाठन संचालन गर्न सकिन्छ भनेर सबै स्थानीय तहहरुसंग छलफल गरिरहेको इकाइ प्रमुख ताराप्रकास पुनको भनाई छ । भर्चुअल माध्यमबाट ६ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुसंग छलफल गरिरहेको उहाँले बताउनुभयो ।


 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update