Kakhara सबैको खबर सम्पूर्ण खबर
मनसुनजन्य विपद् प्रभावित ३४ परिवारलाई नयाँ घर बनाउन पहिलो किस्ता 

रुकुम पश्चिमका ३४ घर परिवारलाई घर निर्माणका लागि पहिलो किस्ता प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट ३४ परिवारलाई पहिलो किस्ता वाफतको रकम हालिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले प्रतिपरिवार ७५ हजारका दरले रकम बैंक खातामा हालिएको जानकारी दिनुभयो । पहिलो किस्ता वाफत २५ लाख रुपैंया वितरण भएको उहाँले बताउनुभयो ।

गत वर्षको वर्षायाममा घरबार विहिन भएका जिल्लाका कुल ८३ घर परिवारलाई नयाँ घर निर्माणका लागि तीन वटै सरकारको साझेदारीमा प्रतिपरिवार ४ लाख रुपैंया उलपब्ध गराईदै छ । सोही अनुसार ३४ परिवारलाई पहिलो किस्ता हालिएको र बाँकी परिवारलाई पनि छिट्टै किस्ता हालिने प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ । संघीय सरकारले पहिलो किस्ता वाफतको ३५ लाख २ हजार ५ सय पठाईसकेको छ ।

आठबीसकोट बाहेक अन्य स्थानीय तहले पनि आफुले व्यहोर्नुपर्ने रकम कोषमा जम्मा गरिसकेका छन् । प्रदेश सरकारले भने आफ्नो भागको पैसा पठाउन बाँकी छ । बाँकी परिवारलाई पनि छिट्टै पहिलो किस्ता पठाईने प्रजिअ गैह्रेले बताउनुभयो । तर स्थानीय तहहरु मार्फत ८३ परिवारसंगै सम्झौता भने भइसकेको बताईएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मुसीकोट नगरपालिकामा ५ घर निर्माण र तीन घर मर्मत गरी कुल ८ घर, आठबीसकोट नगरपालिकामा ३८ घर निर्माण र चौरजहारी नगरपालिकामा १९ घर निर्माण तथा २ घर मर्मत गरी कुल २१ घरसंग सम्झौता भएको छ ।

त्यस्तै सानीभेरी गाउँपालिकामा ७ घर र बाँफिकोट गाउँपालिकामा ८ घर निर्माण हुँदा त्रिवेणि गाउँपालिकामा १ घर मर्मत र ६ घर निर्माण हुने छन् । यसका लागि कुल ३ करोड ३५ लाख रुपैंया खर्च हुने छ । आफ्नो स्थानीय तहमा घर निर्माणमा लाग्ने कुल लागतको १० प्रतिशत गाउँपालिकाले, १५ प्रतिशत नगरपालिकाले, ३० प्रतिशत प्रदेश सरकारले र बाँकी संघीय सरकारले व्यहोर्ने छ । जसअनुसार कुल लागत मध्य स्थानीय सरकारले ४६ लाख २ हजार ५ सय, प्रदेश सरकारले १ करोड ५० हजार र संघीय सरकारले १ करोड ८८ लाख ४७ हजार ५ सय रुपैंया व्यहोर्ने छ ।

त्यस्तै ६ घर भने मर्मत हुने छन् । मर्मतका लागि प्रति परिवार ५० हजार रुपैंया उपलब्ध गराईने छ । 
 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १५:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update