Kakhara सबैको खबर सम्पूर्ण खबर
आफ्ना नेताहरूमाथि हातपात गर्नेलाई नेकपा रुकुम पश्चिमले गर्‍यो कारबाहीको माग 

नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आफ्ना नेता कार्यकर्ताहरू माथि हातपात गर्नेलाई कारबाहीको माग गरेको छ । पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिन सहितका नेताहरूमाथि छुट्टा छुट्टै ठाउँमा हातपात भएको भन्दै पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो । 

जिल्ला संयोजक सचिन सहित मुसिकोट नगरपालिका–९ नम्बर वडा कमिटी अध्यक्ष तथा जनप्रतिनिधि वडा सदस्य ओपेन्द्र ओली र अखिल क्रान्तिकारीका नेता गोविन्द मल्लमाथि हिजो अलग अलग स्थानमा हातपात भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कारबाहीको माग गरेको छ । 

जिल्ला संयोजक सचिन हिजो मग्मा निवासी दिवङ्गत मदन पुनको घरमा समवेदना प्रकट गर्न मुसिकोटबाट बाँफिकोट गाउँपालिकाको मग्मातर्फ गइरहेको बेला बिहान १० बजेको समयमा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को लोछावाङ नजिक पुग्दा सोही गाउँपालिका वडा नम्बर ७ निवासी विकास अधिकारी र प्रकाश अधिकारीबाट हातपात भएको छ । सँगसँगै सोही स्थानमा विद्यार्थी नेता गोविन्द मल्लमाथि पनि निजहरूले कुटपिट गरेका छन् । कुटपिटमा संलग्नहरू नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता रहेको पाइएको छ, विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै हिजो बिहान नै मुसिकोट नगरपालिका वडा नम्बर ९ अदुवारी नजिक जनप्रतिनिधि ओपेन्द्रकुमार ओली हिलगाउँतर्फ गइरहेको समयमा बाटैमा घेरा हालेर स्थानीय खिमलाल ओली, यामलाल ओली, गोविन्द ओली र देवीलाल ओलीले कुटपिट गरी घाइते बनाएको र कुटपिटमा संलग्नहरू नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीका स्थानीय कार्यकर्ता रहेको पाइएको नेकपाले जनाएको छ ।

नेकपाले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारीबाेधका साथ जिल्लाभर अधिकतम संयमताका साथ अघि बढिरहेको अवस्थामा आफ्ना नेता उपर यस किसिमका गतिविधिहरू हुनुलाई गम्भीरतापूर्वक लिएको बताएको छ । साथै पार्टीले यस प्रकारका घटनाहरूको घोर निन्दा र भर्त्सना समेत गरेको छ । 

आगामी दिनमा यस प्रकारका हरकतहरू नदोहोर्‍याउन सम्बन्धित पक्षलाई चेतावनी दिँदै नेकपाले यस खालका उछृङखल क्रियाकलापमा संलग्नहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न प्रशासन समक्ष जोडदार माग पनि गरेको छ । अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने पार्टीका जिल्ला संयोजक वसन्तकुमार शर्माले निकालेको विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।

press-note-nekapa-1771913375.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update