Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा रुकुम पश्चिमले मतदातालाई दियो धन्यवाद,
प्रेस विज्ञप्ती

नेपाली  कम्युनिस्ट पार्टी(नेकपा)  रुकुम पश्चिमले मतदातालाई धन्यवाद ज्ञापन गरेको छ । आज एक प्रेस विज्ञप्ति  जारी गर्दै फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट  पार्टीका तर्फबाट तारा चुनाव चिन्हमा मतदान गरी  उम्मेदवार गोपाल शर्मालाई विजय बनाएकोमा धन्यवाद ज्ञापन गरेको हो । साथै पार्टीले निर्वाचित शर्मालाई बधाईसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।

निर्वाचन अभियानमा अथक मेहेनतका साथ अहोरात्र खटिने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक वसन्त कुमार शर्मासहित पार्टीका सबै तहका नेता/कार्यकर्ताहरु, युवा संगठन, आर्थिक सहयोग गर्ने व्यक्ती, सामाजिक सञ्जाल तथा आम संचारका माध्यममार्फत प्रचार प्रसारमा सहयोग पुर्याउने सम्पुर्णमा पार्टीले धन्यवाद ज्ञापन गरेको छ ।

``जिल्लामा हाम्रो पार्टीको लागि यस पटकको निर्वाचन चुनौतिपूर्ण अग्निपरीक्षाको महासंग्राम थियो, एकातिर निरन्तरताको निकटतम प्रतिष्पर्धी दलसँगको चुनावी रस्साकस्सी र अर्कोतिर पुर्व सहकर्मी कम्युनिष्ट पार्टी छोडेर गठबन्धनसहित नयाँ पार्टीसँगको चुनावी प्रतिष्पर्धा, यो विषम परिवेशमा कम्युनिष्ट पार्टीको विजयको विरासत जोगाउन हाम्रा मतदाताले खेलेको अतुलनीय भूमिकालाई सलाम गर्छौं ´´ विज्ञप्तीमा भनिएको छ  । आगामी दिनमासमेत आम मतदाता र उर्जाशील  कार्यकर्ताहरुको उक्त भूमिका अझ सशक्त र प्रभावकारी रहने पार्टीका केन्द्रिय सदस्य गोबिन्द रोका सचिन र सुरज परियारले जारी गरेको विज्ञप्ती उल्लेख गरिएको छ ।

आम रुकुमेलीहरुको साझा जनप्रतिनिधिको रुपमा अत्यधिक बहुमतद्वारा निर्वाचित शर्माको अभिभावकत्वमा अधुरा कामहरु पुरा गरी जिल्लाको विकास र समृद्धिको अभियानले गति लिने र यस अभियानमा जिल्लास्थित क्रियाशील राजनैतिक दलहरुसहित सम्पूर्ण जिल्लावासीहरु एकतावद्ध र लामवद्ध हुने विश्वास नेकपाले लिएको छ ।

विगतझै यस पटकको निर्वाचनमा पनि नेपाली कम्युनिष्ट पार्टीप्रति रुकुमेली मतदाताले देखाएको अटुट विश्वास, अगाध माया र अद्भूत भरोसालाई उच्च सम्मान गर्दै जनताको सेवामा अझ बढी सक्रियता  र दृढताका साथ लागिपर्ने  नेकपाले प्रतिवद्धता  समेत व्यक्त गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update