Kakhara सबैको खबर सम्पूर्ण खबर
समानुपातिकमा नपरेपछि नेपालीद्वारा काँग्रेस छाड्ने घोषणा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति मानबहादुर नेपालीले पार्टी छाड्ने घोषणा गर्नुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उहाँले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा टिकट वितरण, पार्टीको नेतृत्व परिवर्तन तथा समानुपातिक सांसद छनोटमा असन्तुष्टि व्यक्त गर्दै पार्टी छाड्ने घोषणा गर्नुभएको हो । 

तर उहाँले अहिले तत्काल नभई पार्टी विशेष महाधिवेशन सम्बन्धी विचाराधीन अवस्थामा रहेको मुद्दामा सर्वोच्च अदालतको फैसलापश्चात् नेपाली काँग्रेसमा नरहने घोषणा गर्नुभएको हो । 

उहाँले आफू समानुपातिक सांसदका लागि दलित तर्फ १ नम्बरमा हुँदा पनि सांसदका लागि पार्टीबाट सिफारिस नभएपछि पार्टीभित्रको वर्तमान कार्यशैली, चुनावी परिणाम र नेतृत्वको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

उहाँले नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै समानुपातिक सूचीको दलित तर्फ १ नम्बरमा रहे तापनि निर्वाचनको समयमा पार्टीभित्र अराजकता र गैर वैधानिक कब्जाको खेल भएको आरोप लगाउनुभएको छ । 

विशेष महाधिवेशनबाट सभापति बन्नुभएका महामन्त्री गगन थापालाई ‘षड्यन्त्रको नाइके’ को संज्ञा दिँदै, उहाँको कार्यशैली र टिकट वितरण प्रक्रियामा ‘दम्भ र अहङ्कार’ हाबी भएको उल्लेख गर्नुभएको छ ।

साथै उहाँले केन्द्रीय राजनीतिमा पहुँच भएकाहरूले गाउँबाट आएका, स्वाभिमानी र दलित समुदायका कार्यकर्ताको मर्म नबुझेको गुनासो समेत गर्नुभएको छ । कर्णालीको नाममा राजनीति गर्ने तर टिकट वितरण गर्दा ‘जग्गा दलाल’ वा व्यापारीलाई प्राथमिकता दिने र वास्तविक कार्यकर्तालाई अपमान गर्ने प्रवृत्तिको कडा आलोचना पनि गर्नुभएको छ । 

त्यस्तै उहाँले आफूमाथि लागेको अन्तर्घातको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै, बरु पार्टीले जिल्लाको भावना विपरीत टिकट वितरण गरेको र व्यापारीकरण गरेको दाबी गर्नुभएको छ । वर्षौँदेखि रुख छापको सुरक्षा गर्ने इमानदार कार्यकर्तालाई पाखा लगाइएकोमा उहाँको आक्रोश छ ।

विगतका नेताहरू (गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला) को आदर्श र वर्तमान नेतृत्वको व्यवहारबिच ठुलो खाडल देखिएको महसुस भएको बताउँदै उहाँले आफ्नो स्वाभिमान र विवेकलाई बन्धक राख्न नसकिने भन्दै सर्वोच्च अदालतको फैसलापश्चात् नेपाली काँग्रेसमा नरहने घोषणा गर्नुभएको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update