नेपाली काँग्रेसका नेता राजु केसीले आफ्नो सिफारिसमा कुनै पनि नेता माथि कारबाही नभएको स्पस्ट पार्नुभएको छ । आज फेसबुकमा भिडियो सन्देश जारी गर्दै उहाँले आफ्ना बारेमा विभिन्न भ्रमहरू फैलाइएको भन्दै आफूले सिफारिस गरेर पार्टीका कुनै पनि नेतालाई कारबाही नभएको स्पष्ट पार्नुभएको हो ।
राजु केसीले लेखेको पत्रका कारण दलित तर्फ १ नम्बरमा प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकमा सिफारिस हुनुभएका नेता मानबहादुर नेपालीलाई सांसद नबनाइएको भन्दै भ्रम फैलाइएकोमा आफ्नो ध्यानाकर्षण उहाँले भएको बताउनुभएको छ ।
फागुन २१ गतेको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट रुकुम पश्चिममा उम्मेदवार रहनुभएका केसीले मानबहादुर नेपाली समानुपातिक सांसद नबन्नुमा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पार्नुभएको छ । ‘राजु केसीले पत्र लेखेर मानबहादुरलाई सांसद हुनबाट रोक्यो भनेर उहाँ निकटका मान्छेहरूले भ्रम फैलाइरहनुभएको छ, आज म स्पष्ट पार्न चाहन्छु, भ्रमका पछाडि कोही नलाग्नुहोला, सत्य कुरा बुझ्न आग्रह गर्न चाहन्छु,’ उहाँले भन्नुभएको छ ।
समानुपातिक तर्फ महिलाको संख्या पुर्याउनुपर्ने बाध्यकारी व्यवस्थाका कारण नेपाली १ नम्बरमा सिफारिस भए पनि समानुपातिकमा पर्न नसकेको केसीले बताउनुभएको छ । पार्टीले समानुपातिक तर्फ २० वटा सिट पाएको र १५ जना महिला राख्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण दलित कलष्टरबाटै तीन जना महिला परेकोले नेपाली छुटेको उहाँको भनाई छ । ‘यदि पार्टीले कारबाही गरेर नेपालीको नाम हटाइएको भए निर्वाचन आयोगमा पत्र जानुपर्ने र उहाँको ठाउँमा अर्को पुरुष सिफारिस हुनु पर्ने थियो, तर यस्तो केही भएको छैन,’ केसीले भन्नुभयो ।
यद्यपि कारबाहीका लागि पार्टी सभापति समक्ष पत्र लेखेको विषय भने उहाँले स्वीकार गर्नुभएको छ । आफू निर्वाचनमा होमिएका बेला जिल्लामा नेताहरूले गरेका गतिविधि समेटेर पार्टी सभापति समक्ष पत्र बुझाएको तर रुकुम पश्चिमको मात्र नभई देशभरबाट प्राप्त यस्ता पत्रहरूमा हालसम्म कुनै छलफल हुन नपाएको र कसैलाई पनि पार्टीले कारबाही नगरेको उहाँले उक्त भिडियो मार्फत जानकारी गराउनुभएको छ ।
साथै उहाँले भोलीका दिनमा कस्तो कारबाही हुन्छ भनेर हेर्न बाँकी रहेको समेत उहाँले बताउनुभएको छ । रुकुम पश्चिममा नेपाली काँग्रेसको पार्टी नेतृत्व नै उम्मेदवार केसी विरुद्ध लागेको भन्दै चर्चा र आलोचनाहरू भने भइरहेका छन् । असहयोग गर्नेलाई कारबाहीको आवाज समेत उठिरहेको छ । यस्तो हल्लाका बिच मानबहादुर नेपालीलाई पार्टीले १ नम्बरमा हुँदा पनि समानुपातिकमा नसमेटेको भन्दै आलोचना पनि भइरहेको छ ।





-1759842583.jpg)