नेपाली काँग्रेस रुकुम पश्चिमले आजबाट जरा अभियान कार्यक्रम शुभारम्भ गरेको छ । पार्टी कार्यालय मुसिकोट १ खलङ्गामा एक कार्यक्रमको आयोजना गरी “जरा देखि सुधार, काङ्ग्रेसको नयाँ बिचार’’ “पारदर्शिता, उत्तरदायित्व– जरा अभियान भन्ने मूल नारासहित रुकुम पश्चिममा नेपाली काँग्रेसले जरा अभियान कार्यक्रम शुभारम्भ गरेको हो । पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचनको समीक्षा गर्नुका साथै जरा अभियानको शुभारम्भ गरेको जिल्ला पार्टी सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जरा अभियान अन्तर्गत पार्टीलाई तल्लो तहसम्म पुनर्गठन गरी बलियो बनाउने उद्देश्य रहेको छ । जरा एक महिनासम्म चल्ने उहाँको भनाई छ । पार्टीलाई तल्लो तहसम्म बलियो र सुदृढ बनाउन जरा अभियान अन्तर्गत जिल्लाका ७३ वटा वडामा जिल्लाबाट प्रतिनिधि खटाइने छ । वडामा खटिने प्रतिनिधिहरूलाई यही वैशाख १२ गते १ दिने अभिमुखीकरण तालिम समेत सञ्चालन गरिने पार्टीले जनाएको छ ।
तालिम पश्चात् वडामा खटिने प्रतिनिधिहरूले सदस्यता अद्यावधिक लगायतका काम काम गर्ने छन् । उक्त काम वैशाख २५ भित्र सम्पन्न गरेर वैशाख मसान्तसम्म केन्द्रीय पार्टी कार्यालयमा पठाइ सक्नुपर्ने कार्य तालिका रहेको पार्टी सभापति ओलीले जानकारी दिनुभयो । जरा अभियानको लागि केन्द्रबाट पार्टीले जाजरकोटका महेन्द्रबहादुर शाहलाई रुकुम पश्चिममा खटाएको छ ।
जरा अभियान नेपाली काँग्रेसको जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र १५ औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गरी सञ्चालन गरिएको नेपाली काँग्रेस रुकुम पश्चिमले जनाएको छ । नेपाली काँग्रेसले जिल्ला अधिवेशन भदौ २४ गते, प्रदेश अधिवेशन असोज ७ र ८ गते र १५ औँ केन्द्रीय महाधिवेशन १६, १७, १८ र १९ गते काठमाडौँमा गर्दै छ । सोही अनुसार पार्टीले जरा अभियान सञ्चालन हुने जनाएको छ ।
पार्टी जिल्ला सभापति ओलीको अध्यक्षता भएको जरा अभियान शुभारम्भ कार्यक्रममा जरा अभियानका रुकुम पश्चिमका केन्द्रीय प्रतिनिधि महेन्द्रबहादुर शाह, उक्त अभियानका दैलेखका प्रतिनिधि खड्क डाँगी, जाजरकोटका प्रतिनिधि गोपालजिजङ्ग शाह, जिल्ला कार्यसमिति लगायत पालिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।





-1759842583.jpg)